माधवप्रसाद पाण्डेयको ‘सनातन धर्मको मूलप्रवाह’ लोकार्पण


काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक तथा विश्वसंस्कृत दिवसका संयोजक प्रा.डा. माधवप्रसाद पाण्डेयले परिश्रम गरेर लेखेको, सनातन विद्वत् परिषद नेपालले प्रकाशित गरेको र सनातन प्रेसले छापेको ‘सनातनधर्मको मूलप्रवाह’ नामक ग्रन्थको महर्षि महेश योगी प्रतिष्ठानले आयोजित गरेको अतिरुद्री महायज्ञका अवसरमा देश–विदेशका लब्धप्रतिष्ठित विद्वान्हरूबाट लोकार्पित भएको छ ।

लेखकले पुस्तकको विषयवस्तु चालीबटा शीर्षकमा समेटेका छन् जसमा विषय प्रवेशसहित सृष्टिको स्वरूप, धर्मतत्वको विवेचन, संस्कार, सनातन धर्म, सनातन धर्मको अर्थ, धर्मका प्रकार, आचार, सदाचार, शास्त्रधर्म, वैदिक सनातन धर्म र राष्ट्र धर्म तथा धर्मनिरपेक्षताआदिको वैदिक, उपनिषदीय, तान्त्रिक, पौराणिक तथा अन्य प्रमाणिक मूल स्रोतसहित विवेचना गरेका छन् ।
सनातन हिन्दू धर्मको मूलस्वरूप जान्नका लागि ग्रन्थ अत्यन्त उपयोगी छ ।

जानेर होस् वा नजाने वैदिक हिन्दू जीवनशैली र विश्वासउपर काल्पनिक प्रहार गर्ने तथाकथित बौद्धिकवर्गहरूले त झन् यो पुस्तक पढ्नैपर्छ । सनातन धर्मको जरोकिलो बुझ्न र हिन्दूको आत्मगौरवको जागरणका लागि उपयोगी छ । साथै, हिन्दू धर्मको वास्तविक स्वरूप र कर्तव्य वारे जानकारी प्राप्त गर्न इच्छुक जिज्ञासुको लागि यो पुस्तक प्रमाणिक कखरा हुनसक्छ ।

संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूको भाषाशैली सर्वसाधारणका लागि शब्दकोश खोज्नु पर्ने अवस्था सृजित गर्छ । यो बाहेक ८० पानाको यो पुस्तकको मूल्य २७० रहेको देखिन्छ । मेरो व्यक्तिगत बुझाईमा वैदिक सनातन धर्मको मूलस्वरूपलाई बुझ्न यो पुस्तक निकै उपयोगी छ किनभने यसले मूल प्रमाणहरू समेटेको छ तर किताव पढ्दा अलिअलि गरेर मनन गर्दै पढ्नुपर्छ । रसिलो कथाझैं पढेर विषयवस्तुको जानकारी मिले पनि स्मरणमा रहन्न ।