धादिङमा पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो


 

मलेखु (धादिङ) । धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खेलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ ।

शनिबार बिहान बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए । ती सवारीसाधन मध्ये बसमा सवार एक महिला र एक पुरुषको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए ।

बसमा चालकसहित १२ जना रहेको बताइएको छ । “बस   मालिकले बुटवलबाट १२ तथा नारायणगढबाट एक यात्रु चढेको जानकारी दिएका छन् । अहिलेसम्म यात्रुहरु कोही पनि सम्पर्कमा छैनन्”, उनले भने ।

देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुङ्गा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत छ ।