पशुपतिनाथ गुठीकै जग्गा मात्रै खोजी गर्यो र गुठीको हक कायम गर्ने हिम्मत गर्यो भने आधा काठमाडौँ सफा हुन्छ
नारायण गाउँले ।
‘गौचरन’ भन्ने त सुन्नुभएकै होला । देशभर गाईवस्तु चराउन मिल्ने सानाठूला सार्वजनिक चौरहरू थिए । जिल्लाजिल्लामा संरचना नभए पनि खेलकुद र हजारौँले मेलापात भर्न मिल्ने रङ्गशाला, टुँडिखेल र चौरहरू थिए ! स्कुलका विशाल चौरहरूमा त बर्खा बिदामा पलाउने घाँसले कतिका गाईवस्तु पालिन्थे ।
मन्दिर, स्कुल, वृद्धाश्रम या सार्वजनिक हितका सङ्घसंस्थाको दीर्घकालीन व्यवस्थापनका लागि देशभर गुठी गठन गरेर तिनको नाममा हजारौँ बिघा जग्गा सार्वजनिक प्रयोगका लागि छुट्याइएको थियो । कतिले शिक्षा, धर्म र संस्कृति अविच्छिन्न रहोस्, सरकारको मुख ताक्न नपरोस् भनेर स्कुलदेखि मन्दिरसम्मलाई जग्गादान गरेका थिए । आज दमकल र ह्विलचेयर पनि नअटाउने १३ फिटको बाटो पास हुन्छ तर बहुदल आउनुअघि नापी भएका र बनेका बाटा वरपर २५ देखि ५० मिटर छोडेर घर बनाउनुपर्ने नियम थियो । बहुदलअघिको काठमाडौंमैं पनि पार्क थिए, पोखरी थिए, टुँडिखेल थियो, बटुवालेसमेत पानी पिउन सक्ने ढुङ्गे धारा थिए । सयौँ पाटीपौवा, सत्तल, ठाँटी र धर्मशाला थिए । त्यहाँ प्रदर्शनी स्थल थिए, गौचरन र नदी थिए । आज युरोपका शहरमा टायलले छाएका जुन घर देखिन्छन्, जस्तो खुला ठाउँ देखिन्छ र जति फराकिला बाटा देखिन्छन्, काठमाडौं कुनै बेला त्यस्तै थियो, सुन्दर थियो । हो,भौतिक समृद्धि थिएन, दुबईका जस्ता अग्ला टावर थिएनन् तर सास फेर्ने खुला ठाउँ थियो । आगलागी या भूकम्पजस्ता विपत्तिमा जम्मा हुने खाली ठाउँ थियो ।
बहुदल आएपछि त्यसको संरक्षण र सम्बर्द्धन हुनपर्थ्यो तर उल्टो भयो । हामी भोकाएका स्यालजस्तो सार्वजनिक सम्पत्ति, संस्था र जग्गा निल्नतिर लाग्यौँ । दलहरूको शक्ति र चाहनामा सार्वजनिक जग्गा पचाएर भोट ओकल्ने सुकुम्बासी पैदा भए । अहिलेका अर्थमन्त्री पनि त्यस्तै एउटा सुकुम्बासी हुन् ।
हामीले क्रमशः चौर खायौँ । गौचरन खायौँ । सटर बनाएर भाड़ा खाने भन्दै स्कुल र कलेजमा केटाकेटी खेल्ने मैदान खायौँ । विश्वविद्यालयका जग्गा खायौँ । बाहिर बाहिर आराध्यदेव भन्दै भित्रभित्रै पशुपतिनाथको हजारौँ बिघा गुठी जग्गा खायौँ । राजकुलो खायौँ । पाटीपौवा र सत्तल खायौँ । खोलाकिनार खायौँ, खोलै पनि खायौँ । अस्ति गुठी नै मासेर बचेको जति एकै गासमा खान खोजेका थियौँ । नदी पनि हामीले छोड़ेनौँ । खाएपछि भोलिपल्ट के आउँछ भन्ने हामी सबैलाई थाहा नै छ, हाम्रा खोला र नदी त्यस्तै दुर्गन्धित छन् यतिबेला । तिनको स्पेस र सुगन्ध त हाम्रो पेटले पचाइसक्यो । नदी ढल जस्ता छन्, बाटो मृत्युको धराप जस्तो छ ।
एउटा दुई लेनको राजमार्गमा ५० मिटर छोडेर मात्रै घर बनाउन पाइने नियम हुन्छ, काठमाडौँमा नदीकिनारमा ४० मिटर छोड्न पर्ने आदेश अदालतले दियो भने अन्याय हुन्छ, अत्याचार हुन्छ ! धेरै होइन, पचास वर्षअघि जन्मेको र त्यहाँ हुर्केको व्यक्तिलाई थाहा छ, चालीस मिटर होइन, सय मिटर छोड्दा पनि व्यक्तिको होइन, नदीकै जग्गा मिचिएको हुनुपर्ने हो । काठमाडौँमा बग्ने कुलो त पक्कै होइन । पेरिसको सियन जस्तै, लण्डनको थेम्सजस्तै नदी हो । त्यहाँ आज पनि पानी बग्छ, डुङ्गा चल्छन् । अझ दुर्भाग्य त यहाँ नदी हजम गर्ने मान्छे थेम्स नदीमा डुङ्गा शयर गर्दै फोटो शेयर गर्छ ।
हामीले आजभोलि बनाएको बाटोमा फुटपाथसम्म छैन । ट्रिपरदेखि स्कुल जाने बालबालिका, साइकलदेखि लठ्ठी टेक्दै हिँड्ने वृद्धसम्म त्यही साँघुरो सड़कमा दुर्घटनासँग लुकमारी गर्दै हिँड्ने दयनीय अवस्था छ । मर्निंग वाक गर्न एउटा चौर, पार्क या खुला स्थान छैन । धुलाम्य, धुवाँमय र असुरक्षित सड़कमा मान्छे फोक्सोमा निमोनियाको इन्फेक्शन भर्दै हिँडिरहेका छन् !
यसरी बिगार्यौं कि अब बनाउन लगभग मुश्किल छ । यसरी बिग्रियौँ कि कसैले बनाउन सकिन्छ कि भनेर सोच्यो भने मात्रै पनि त्यो नागरिक दुश्मन हुन्छ । त्यसलाई फू गरेर ढालिदिने हाम्रो धम्की हुन्छ । आफ्नै फोक्सो सद्दे भए पो फू गर्ने !
देशमा सयथरी खेल छन् । तर एउटा क्रिकेटको मैदान बनाउन पनि हामीसँग जग्गा छैन । विश्वविद्यालयमा कृषि पढाउन र अनुसन्धान गर्न छुट्याइएको जग्गा काट्न पर्ने अवस्था छ । भोलि फुटबलदेखि टेनिससम्मले मैदान खोज्दै आए भने के होला ? जबकि तीस वर्ष पुरानो नक्सामात्रै हेर्ने हो भने पनि देशैभरि पार्क र मैदान बनाउन पुग्ने पर्ती र ऐलानी जग्गा हामीसँग थिए ।
हामीसँग दल छ, सत्ता छ, शक्ति छ, पैसा छ, हामीले नै लेखेको ऐन छ, अदालत छ । केही नहोला । एउटा मेयर, एउटा सांसद या एउटा आबाज त हामी सबै मिलेर फू गरे पनि ढल्ला । तर एक दिन तीन चारवटा मेयर मिलेर आए भने त हामी नै ढल्न पनि के बेर ! धेरै छोडौँ, कसैले हामीलाई नै फू गर्दै पशुपतिनाथ गुठीकै जग्गा मात्रै खोजी गर्यो र गुठीको हक कायम गर्ने हिम्मत गर्यो भने आधा काठमाडौँ सफा हुन्छ । हाम्रा आधा कार्यकर्ताको बिचल्ली हुन्छ ।
स्मरण रहोस्, अन्तर्राष्ट्रिय सूचक र सर्वेक्षणहरूले हामीलाई सबैभन्दा भ्रष्ट, मन्दबुद्धि र प्रदूषित देखाएका छन् । बाहिर त प्रतिवाद गरौँला, आँखा चिम्लेर आफैलाई हेर्यौं भने सत्य के हो थाहा हुन्छ ।