बौद्धचिन्तनको दोश्रो पाटो
डा. गोविन्दशरण उपाध्याय ।
सिद्धार्थ गौतम राजकुमार थिए । तर त्यो राजवंश कुनै ठूलो साम्राज्यको मालिक थिएन । त्यसबखत स–साना रजौटाहरू विच झैंझगडा चालिने रहन्थे । कपिलवस्तुले पनि ‘पानी’को बाँडफाँड नमिलेर धेरै पटक युद्ध लडेको थियो । जनता र राज दूवै युद्धदेखि दिक्क भएका थिए । राजकुमारका रूपमा सिद्धार्थले पनि ‘पानीको युद्ध’ लड्नुको विकल्प थिएन । युद्ध हुन्थे, मान्छेहरू मारिन्थे तर समाधान निस्कदैनथ्यो । तत्कालीन कविला राजाहरूका लागि यो निकै ठूलो चुनौतीको विषय थियो ।
सिद्धार्थका पिता शुद्धोधन भावि राजा सिद्धार्थसंग झैंझगडाको कुरा लुकाउन चाहन्थे । राजसभामा प्रशिक्षित गर्नु भन्दा शुद्दोधनले सिद्धार्थका लागि सुरासुन्दरीको भरपुर व्यबस्था गरेर अन्तपुरमा नै रमाउने व्यबस्था गरे । यतिहुँदाहुँदै पनि सिद्धार्थले पानीको लागि निरन्तर चलिरहेको युद्ध, राज्यप्राप्तिका लागि गरिने षड्यन्त्रहरूका विषयमा थाहा पाइरहे । उनी आफू पनि अन्य राजा–रजौटासरह युद्ध गर्ने र युद्धमा मारिने कुराले निकै सुर्ता भयो । उनी दीर्घ तर युद्धरहित जीवन विताउन चाहन्थे ।
एकपटक राजकुमारको रूपमा सिद्धार्थले पनि युद्धको नेतृत्व गर्नुपर्छ भनेर शुद्दोधनको राज्यसभाले सिद्धार्थलाई युद्धको नेतृत्व गर्नुपर्ने निर्णय गर्यो । शुद्धोधनले नचाहँदा नचाहँदै पनि सिद्धार्थलाई युद्धको नेतित्व गर्न पठाउनु पर्ने भयो । युद्धकलाको कुनै पनि ज्ञान नभएका राजकुमारलाई युद्धको नेतृत्वमा पठाउनु मृत्युको मुखमा पठाउनु थियो ।
युद्धका दिनहरू नजिकिंदै गर्दा सुद्धोधनको राजमहलमा निकै खैलाबैला मच्चियो । सिद्धार्थलाई आफ्नो कमजोरी थाहा थियो । सिद्धार्थले महल नै त्याग्ने निर्णय गरे । युद्धमा नजानु भनेको राज्यसभाको अपमान गर्नु हुन्थ्यो । त्यसो गर्नु भनेको तत्कालीन नियमअनुसार राज्यसत्ताबाट बाहिरिनु हुन्थ्यो ।
सिद्धार्थले राज्य त्याग्ने निर्णय गरेर कपिलवस्तुको राज्यसत्ता जोगाए भने अर्कोतिर युद्धमा मारिने अवस्था पनि टर्यो । शुद्धोधन र सिद्धार्थ दूवैका लागि गृहत्याग नै उचित थियो । मृत्युको डर, युद्धको किचलो, आफ्नो अस्तित्वको विनाश, युद्धमा मारिएका योद्धा–परिवारको विचल्लीआदि देखेका र बुझेका सिद्धार्थका लागि आफ्नो अस्तित्वरक्षा पहिलो प्राथमिकता र दोश्रो प्राथमिकतामा युद्धको स्थायी समाधान खोज्नेमा केन्द्रित थियो । उनले घरत्यागेपछि सबैभन्दा पहिले ‘अजरअमर’ हुने बाटाहरू खोजे । धेरै साधना गर्दा पनि मान्छेसंग ‘मर्नुको विकल्प रहेनछ’ भन्ने तत्थ्य स्वीकार गर्न कर लाग्यो ।
अनन्तः उनले विश्वलाई दुःखैदुःखको पोको भएको सिद्धान्त निर्माण गरेर युद्ध र युद्धजन्यहिंसानै समस्याको प्रमुखकारण भएको घोषणा गरे । युद्ध भन्दा अहिंसा. ध्यान तथा प्रतीत्यसमुत्पाद, अनित्य र पूर्णअन्त्यको साधनाले मान्छे बढी सुखी हुने सिद्धान्त प्रतिपादन गरे । सधैंको किचलो र युद्धबाट आजित भएका जनतालाई सिद्धार्थको यो सिद्धान्त ‘गज्जव’ लाग्यो । उनको सिद्धान्त मन पराएर पछि लागेका असंख्य मान्छेहरूको भीडले सिद्धार्थलाई ‘बुद्ध’ अर्थात् जागरूक मान्छे भन्ने नाम दिए ।
बुद्धका अनुयायीहरू बढ्दै गएपछि अनुयायीहरूको संयुक्त नामलाई ‘संघ’ भनियो । बुद्धले दिएको उपदेशअनुसार जीवन यापन गर्ने दार्शनिक दृष्टिकोणलाई ‘धर्म’ भनियो र संघ र धर्म दूवैका प्रथमगुरू बुद्ध भएको र बुद्धका पछाडी लाग्ने सबै जागरूक व्यक्ति भएको बुझ्ने प्रयोजनका लागि ‘बुद्ध’को शरण स्वीकार गरियो । बुद्धले परम्परागत वैदिक वर्णश्रम व्यबस्थाको विरोध गरे । सधैं युद्धमा जाने शास्त्रीय परम्पराबाट आजित भएका क्षत्रीहरूले बुद्धको शरण ग्रहण गरे । बुद्ध आफैं क्षत्री भएर पनि ब्राह्मणले गर्ने कर्म ‘दान दिने–लिने, पढ्ने पढाउने बनेर क्षत्रीहरूलाई आफ्नो मौलिक संस्कार छोडेर ‘निःशस्त्र’ भएर धर्म र सङ्घको साधना गर्न प्रेरित गरे ।
महावीर र बुद्ध दूवैले वैदिक वर्णाश्रम परम्परामा रक्षक र लडाकु मानिएका क्षत्रीहरूलाई आफ्नो मौलिक कर्तव्यबाट विमुख बनाए । दूवैले युद्ध र हिंसाको खुलेर विरोध गरे । विश्वलाई दुःखमय देखाएर भिक्षु धर्म अबलम्बन गर्न प्रेरित गरे ।
क्रमशः ‘बीरभोग्या बसुन्धरा’ भन्दै आफ्नो देश र जनताका लागि प्राणत्याग गर्ने, धर्मयुद्ध लड्ने योद्धाहरू भिक्षु बनेर गाउँगाउँ मागेर जीवन यापन गर्न थाले । रक्षकहरू नै भिक्षु बनेपछि वर्णाश्रम व्यबस्था ध्वस्त भयो । बुद्धको उपदेशका प्रभावका कारण राजाहरूले युद्ध लड्नुको सट्टा शत्रुलाई राज्यदान दिएर सङ्घमा सामेल हुनु उपयुक्त ठान्न थाले ।
कृषिमा आधारित अर्थव्यबस्था भएको त्यस जमानामा कृषिकर्म पनि कठोर दुःख हो भन्ने विश्वास भएर असंख्य कृषकहरू भिक्षु बने । मागेको भरमा पेटभरी खान पाइने, भिक्षु बनेर सम्मान पाइने र राज्यले नै विशाल विहारहरू खडा गरेर भिक्षुहरूलाई वसोवास गर्ने व्यबस्था मिलाएपछि सङ्घमा मान्छे उर्लिए ।
संसार दुःखले भरिएको छ र महानिर्वाण नै दुःखको अन्त्य हो भन्ने दर्शनले वैदिक कर्मप्रधान समाजलाई ‘अकर्मण्य’ बनायो । ब्राह्मण, क्षत्री, वैश्य तथा शुद्रहरूले आफ्नो मौलिक कर्म छोडेर ‘दुःख’ मुक्तिको आशामा बुद्धको पछाडी लागे । सम्पूर्ण समाज अकर्मण्य, निराशावादी र दुःखमुक्तिका लागि कर्मत्यागको बाटोमा हिँड्न थाल्यो । बुद्धको तेश्रो शताब्दिसम्म विदेशी आक्रान्ताबाट सधैं सुरक्षित रहेको भारतवर्ष बुद्धका दुःखवादी उपदेश फैलिंदै जाँदा विदेशी आक्रान्ताको आक्रमणबाट परतन्त्र हुँदैगयो । बुद्धवादको प्रभावमा आफ्नो देशको सुरक्षा गर्नु भन्दा ‘दुखैदुखले भरिएको युद्धकर्मको विभीषिका’मा सक्रिय नहुने निर्णय गर्न थाले ।
महावीर र बुद्धले देखाएको ‘अहिंसा परमोधर्म र सर्व दुःखम्को’ निराशावाद र अकर्मण्यताले भारतवर्ष ग्रस्त हुँदै गर्दा परतन्त्र हुने क्रम बढ्यो । यद्यपि महावीर र बुद्धको उपदेशमा तिनकै अनुयायीहरू पनि स्थिर रहन सकेनन् । अशोकले लडेको युद्धलाई बुद्धको उपदेशले रोक्न सकेन । बुद्धको उपदेशको अवहेलना गरेका अशोकले पछि प्रायश्चितका रूपमा बुद्धका स्मारकहरू बनाए, बौद्ध भिक्षु–भिक्षुणीहरूलाई अनिवार्य भोजन र बसोवास गर्न/गराउन कृषकहरूलाई उर्दी जारी गरे ।
लाखौं आलसी भिक्षुहरूलाई खुवाउनु पर्दा गाउँका गाउँ भोकै मर्ने अवस्था आयो । भिक्षुहरूको झुण्ड देखेपछि गाउँले कृषकहरू जङ्गलमा गएर लुक्न बाध्य हुन्थे । यस्तो अवस्था महान् मीमांसक कुमारील भट्टले कर्म–सिद्धान्तलाई पुनर्जागृत नगरेसम्म रह्यो । पछि, मण्डन मिश्र, कुमारील भट्टआदि मीमांसक र अद्वैतवादी आचार्य शङ्करले बौद्ध र जैनी अहिंसा तथा दुःखवाद विरुद्ध अभियान नै चलाए । सित्तैवादमा पल्केर बौद्ध भिक्षुहरूबाट आजित भएका सर्वसाधारणले दुःखवादको पूर्ण तिरस्कार गर्न थाले । भारतवर्षबाट बौद्धमार्ग बढारियो । यद्यपि बौद्धहरूले यो सत्यलाई अस्वीकार गर्छन् । केही घृणावादीहरूले बौद्धहरूको पलायनका लागि हिन्दूउपर दोषारोपण गर्छन् ।
आज पुनः बुद्धको दुःवादी सिद्धान्त लोकप्रिय हुँदैछ । पेट भरिएको बेलामा मान्छेलाई दुःखमुक्तिका लागि ध्यान/ज्ञान मनपर्छ । विश्वको इतिहासमा अहिलेको समय सबैभन्दा शान्त र युद्धरहित अवस्था हो । केहीले आर्थिकस्तर उकास्न बौद्धवादको प्रचारप्रसार गर्दैछन् भने केहीले भौतिकवस्तुको उपभोगबाट जन्म्र, मृत्यु, जरा तथा व्याधि नमेटिने र मानसिक शान्ति प्राप्त नहुने देखेर बुद्धले देखाएको प्रतीत्यसमुत्पादको अभ्यास गर्न थालेका छन् । पेट भरिएको र शान्तिको अवस्थामा बुद्धका उपदेश निकै प्रभावकारी लाग्छन् ।
काम गरेर पेट पाल्ने कृषक, मजदूर तथा कर्मयोगीका लागि बुद्धको उपदेश अर्कमण्यताको भारी हो । कल्पना गरौँ त ‘यदि संसारको अन्तिम मान्छेले पनि विपस्यनामा बसेर विश्व दुःखैदुःख हो’भन्यो भने विश्वको व्यबस्था के होला ? बुद्धका उपदेशहरू कर्णप्रिय छन् तर कर्मप्रिय छैनन् । सायद, वैदिक कर्मको दार्शनिक सिद्धान्तले भारतवर्षमा प्रधानता प्राप्त गरेको भए पश्चिममा भन्दा विज्ञानको विकास भारतवर्षमा हुने थियो कि ?
सिद्धार्थ गौतमको दार्शनिक सिद्धान्तले निम्त्याएको जीवनदर्शनको यो पाटो पनि उत्तिकै बलियो छ । बुद्धका सिद्धान्तहरूको आलोचना पनि हुनुपर्छ । यसले बुद्धको उपादेयता न्यून हुँदैन । बुद्धको दार्शनिक सिद्धान्तले वैदिक कर्मसिद्धान्तलाई पुर्याएको क्षति र त्यसक्षतिबाट भारतवर्षले गुमाएको एउटा सुनौलो सम्भावना वारे चिन्तन गर्ने अवसर मिल्छ । बौद्धहरूलाई यो आलोचन नपचे पनि बुद्ध भने विचलित हुने छैनन् । भवतु सब्ब मङ्गलम् ।