काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई जोगाउन रास्वपाले पहल गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले क्यानका महानिर्देशक रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रको मान्छे भएको र जोगाइदिन भन्दै रास्वपाका सहमहामन्त्री आफूकहाँ आएको बताए ।
उनले भने, ‘क्यानको विषयमा यहाँ छलफल हुँदैछ। करिब १३ जना प्रतिपक्षी दलको सांसदले सार्वजनिक महत्व दर्ता गराउनुभएको छ यसै पार्टीका सहमहामन्त्री हतारिएर मेरो ठाउँमा आउनुभयो क्यानका डिजी जोगाउन भन्दै । उहाँ हाम्रो निर्वाचन क्षेत्रको मान्छे रवि लामिछानेजी निर्वाचित क्षेत्रको मान्छे जोगाउनुपर्यो भनेर ।’
उनले नयाँ पार्टीमा झन् द्वैध चरित्र देखिएको र यो चिन्ताको विषय भएको बताए । उनले भने, ‘म प्रश्न गर्न चाहन्छु यो द्वैध चरित्रले देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग यत्रो ठूलो आशा छ जनताको भरोसा छ भनिएको छ यस्तो डबल स्ट्यान्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ।’

प्रतिक्रिया