डेडिकेटेड र ट्रंकलाइनको रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैनः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुलमा एक रुपैयाँ पनि छुट दिन नहुने बताएका छन् ।

सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले बरु नौ वर्षँसम्म २२ अर्ब रुपैयाँ नउठाइएकोबारेमा भने जवाफ खोज्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छ ! केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ। तर सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो । उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरुबाट बक्यौता उठाउनैपर्छ । रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन । ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ।’