राजदूतको बिदाइ ‘रिसेप्सन’
विजयकुमार पाण्डे ।
काठमाडौंमा राजदूतहरु आउँछन् । आफ्नो काम राम्ररी, नराम्ररी वा औसत तरिकाले गर्छन् । समय सकिएपछि फर्कन्छन् । बिरलै (सायद १ प्रतिशतभन्दा पनि कम) अवस्थामामा काठमाडौंस्थित कुनै राजदूतलाई, उनीहरुको सरकारले नेपालबाट समय अगावै फिर्ता बोलाउँछ । नेपाल आउने राजदूतको हालत, नेपालबाट विदेशमा जाने नेपाली ‘राजनैतिक नियुक्तिवाला राजदूत’ को जस्तो हुँदैन । सबैलाई थाहा नै छ विदेश जाने कोही कोही नेपाली राजदूत त, ओहदाको प्रमाणपत्र समेत प्रस्तुत गर्नै नपाई वा प्याकिङ पनि राम्ररी खोल्नै नपाई नेपाल फर्कने आदेश आइपुग्छ !
यता नेपालमा नयाँ सरकार, उता नेपालको नया राजदूत ! हुन त एक हिसाबले यो ठिकै पनि हो, सायद । ढोका कुरेर राजनैतिक नियुक्ति पाएकाहरुले – नयाँ ढोके, ढोकिनी हरुलाई ठाउँ अनिवार्य छोड्नु त्यति खराब परम्परा होइन । दुःख त विदेशी राष्ट्राध्यक्षलाई हुन्छ । उसले हरवर्ष फेरिने, नयाँ नेपाली राजदूतको ओहदाको प्रमाणपत्र बुझ्ने समय निकाल्नु पर्छ । ठट्टा मजाक आफ्नो ठाउँमा छ तर राजदूत पदमा नेपालबाट गरिने धेरै जस्ता राजनैतिक नियुक्तिहरु ‘ढोकेढोकेनी सिद्धान्त’ मा आधारित छन् भन्ने संकोच गर्नुपर्दैन ।
हुन त केही अपवाद अवस्थामा योग्य मान्छे पनि राजनैतिक नियुक्ति भएका थिए, भएका छन् । जीवनभर परराष्ट्र सेवामा काम गर्ने ‘करियर डिप्लोमैट’ लाई बाइपास गरेर ढोकेढोकिनी सिद्धान्त कुन हदसम्म लागू गर्ने ? कति प्रतिशत राजदूत ‘ढोकेढोकेनी कोटा’ बाट दिने ? यो सवाल गम्भी हो । बुढा नेता पुस्ताले त यो सवालमा सोच्ने नै छैन । तर आउँदो नेता पुस्ताले सोच्न जरुरी छ । यसैपनि बुढा पुस्ताको समय अब कति पो बाकी छ र ! प्रस्तुत तस्बिर शनिबार साँझको हो । नेपालका लागि अष्ट्रेलियाकी राजदूत Felicity Volk ले आयोजन गरेको बिदाइ रिसेप्सन थियो । उनको राजदूत कार्यकाल दौरानमा मेरो ४, ५ चोटी भेट भयो । अनौपचारिक खालका भेट । मेरा लागी उनी राजदूत थोरै र लेखक धेरै थिइन्, रहने छिन् ।
नेपाली समाजका बिभिन्न तहमा उनको पहुँच र पकड लोभलाग्दो थियो । कार्यकालको दौरानमा उनी राष्ट्रपतिदेखि सडकको सामान्य मानिससँग त्यतिकै सहजताले व्यबाहर गर्न सक्थिन् । उनको कार्यालयका सहयोगीहरु पनि धुर्त र कुटिल खालका थिएनन् ।
हिजो साँझ नेत्र चिकित्सक डा. सुमन थापाले गितार समाते । कुर्सीमा बसेर गीत गाए । १९७४ एडी बैण्ड पनि त्यहाँ थियो । साडी लगाएकी महामहिम थच्चक भुइँमा बसिन् ।
( अर्थात्, कुटनीतिज्ञका रुपमा हामी एकअर्कालाई सहयोग गर्छौं । कुटनीतिको यो खेल, हामी एउटै नियम र प्रायः एउटै स्तरको पेशागत कौशल अनुसार खेल्छौं । तर मैले यो कुरा स्वीकार गर्नैपर्ने हुन्छ–यो खेलमा फेलिसिटी म भन्दा धेरै सिपालु छिन् । उनको डिप्लोमैसीको मास्टर क्लास म मिस गर्ने छु’)
बेलायती राजदूतलाई अष्ट्रेलियाकी फेलिसिटी डिप्लोमैसीको मास्टर क्लास लागिन् । मलाई एक संवेदनशील लेखिका लागिन् ।
म आजसम्म अष्ट्रेलिया गएको छैन । मेरा एक दुई साथी छन् त्यहाँ, नाता छन् । तैपनि बाटो परेको छैन । रिसेप्सनमा मैले हिरा श्रेष्ठ र गंगा बहादुर महर्जनलाई पनि भेटें । हिराजी राजदूत निवासमा कुक हुन् । गंगाजी बगैंचाको रेखदेख गर्छन् । त्याहा काम गरेको करिब ३७ वर्ष भएछ ।
उनीहरुले मलाई याद दिलाए – करिब ३६ वर्षअघि मैले नेपालका लागि अष्ट्रेलियाको पहिलो आवासीय राजदूत डायना जोन्सटनको टेलिभिजन अन्तरवार्ता गरेको थिएँ । पहिलो राजदूत, पहिलो अन्तरवार्ता !
सुनेर म नोस्टालजिक भएँ । ती दिनमा, अष्ट्रेलियाको राजदूत निवास थापाथलीमा हुने गर्थ्यो .. मैले सम्झनाको लागि हिराजी, गंगाजी र राजदूत फेलिसिटीसँग एउटै फ्रेममा तस्बिर खिचें । हिजै जस्तो लाग्छ, डायना जोन्स्टनको अन्तरवार्ता गरेको । कहिलेकाही सोच्छु , जिन्दगी भन्नुको साटो हिजै जस्तो लाग्छ भने पनि हुन्छ , अर्थ फरक पर्दैन ।रिसेप्सनमा चल्दै थियो । मैले महामहिम फेलिसिटी भोल्कसँग बिदा मागें । लेखिका फेलिसिटीसँग बिदा माग्ने कुरा भएन । राजदूत निवास बाहिर निस्किएँ । एकदम मधुरो पानी पर्दै थियो । एकछिन फुटपाथमा हिडे । जीवनका सम्झनाहरुमा एक छिन भिजे । अनि ट्याक्सी खोज्न मोबाइल थिचें ….
वरिष्ठ पत्रकार विजयकुमार पाण्डेको फेसबुकबाट