पर्यटनमन्त्रीद्वारा कीर्तिमानी आरोही पासाङ नामगेल शेर्पाको स्वागत


 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘ब्रोड पिक’ को सफल आरोहण गरी फर्किएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गरेका छन् । मन्त्री पाण्डेले शुक्रबार आरोही शेर्पालाई मन्त्रालयमा स्वागत गरेका हुन्।

सोलुखुम्बुको खुम्बु गाउँपालिकाका शेर्पाले पाकिस्तानमा रहेको विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिकको एउटै ‘सिजन’ मा दुईपटक आरोहण गरेका थिए ।

पर्यटनमन्त्री पाण्डेसँगको भेटमा शेर्पाले सरकारले कल्याणकारी कोषको स्थापना गरिदिन माग गरेका थिए । उनले हिमालमा हुने दुर्घटना, हेलि रेस्कु हुन गाह्रो हुने बताउँदै त्यसबारे आवश्यक प्रबन्ध गरिदिन र विदेशी आरोहीलाई क्याम टु–बाट आठ केजी फोहर अनिवार्य ल्याउनुपर्ने प्रावधान भएकाले त्यसलाई सहज बनाई दिन अनुरोध गरे ।

मन्त्री पाण्डेले आरोहीको कल्याणकारी कोष स्थापना र फोहर व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग बुझेर सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।