जो उपचार गर्न हिँडेका थिए, पहिरोले पुरिए


बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० की ६० वर्षीया सुमित्रा विक केही दिनदेखि बिरामी थिइन् । मङ्गलबार बिहान उपचारका लागि घरभन्दा केही तल रहेको दर्लिङ गाउँस्थित स्वास्थ्य क्लिनिकको यात्रा तय गरिन् ।

कान्छी सासु देवी विक, देवर ससिराम विक, बुहारी सिर्जना विक र छ महिनाकी नातिनी सीता विकसहित पाँच घरभन्दा केही तल झरेकी थिइन् । एक्कासी ठूलो वर्षा भयो । साथमा भएको छाताले पानी छेक्न नसकेपछि उनीहरु सबै जना बाटो छेउमै रहेको स्थानीय जोगबहादुर बुढाको घरमा ओत लाग्न पुगे । जोगलालको घरमा पुग्दा गाउँका अन्य मान्छे बसिरहेका थिए ।

वर्षा रोकिएपछि गन्तव्यमा लाग्ने तयारीमा रहेका उनीहरु घरमा रहेका अन्य मानिससँग गन्थनमन्थन गर्दै थिए । सुमित्राले एक्कासी जमिन हल्लिएको महसुस गरिन् । त्यसपछि उनले केही थाहा पाइनन् । करिब तीन घण्टापछि बिउझिँदा आफ्नो शरीरको विभिन्न अङ्गमा चोट लागेको देखिन् । शरीर चलाउन खोज्दा नचलेको भान उनलाई भयो । आफू होसमा आउँदा ओत लागेको घर पहिरोले पुरिएको र चारैतिर मान्छेको भीड देखिएको उनले बताइन् ।

“थलिएको धेरै दिन भएको थियो, अस्पतालमा गएका थियौँ, बिहानदेखि सिमसिम पानी परेको थियो, वर्षा रोकिएला भन्ने लागेर घरबाट निस्यिौँ”, सुमित्राले भनिन् ।

उपचारका लागिसँगै हिँडेका पाँच जनामध्ये सुमित्रा, उनका देवर ससिराम र बुहारी सिर्जनालाई करिब तीन घण्टापछि प्रहरी र स्थानीयले पहिराबाट जीवितै उद्धार गरे भने कान्छी सासुदेवी र नातिनी सीताले भने ज्यान गुमाए ।

बिरामी भएर उपचारका लागि अस्पताल हिँडेका उनीहरुबीच बाटोमै मृत्युवरण गरेपछि विक परिवार मात्रै नभएर सिङ्गो गाउँ नै यति बेला स्तब्ध छ । सुमित्रा अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचाररत छन् । शरीरको धेरै अङ्गमा गहिरो चोट लागेको हुँदा चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको छ ।

पहिरोमा घाइते भएका सुमित्राका देवर र बुहारी भने दुई दिनको उपचारपछि घर फर्किएका छन् । पहिरोले पुरिएर बाँचेकी उनी अहिले पनि बेला बेला झस्किरहन्छिन् । उनले आफूहरु ठूलो भाग्यले बाँचेको सुनाइन् । सुमित्राका अनुसार घरको पिँढीमा बसेका अधिकांश बाँच्न सफल भएका छन् भने घरभित्र रहेका कोही पनि जीवित छैनन् ।

बडिगाड गाउँपालिका–१० आरुपाटामा गएको उक्त पहिराले सुमित्राको सासु र नातिनी मात्रैको ज्यान लिएन, उनीहरुसहित १० जनाको ज्यान लिएको छ । पहिरोमा परि घर धनी ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, छ महिने छोरी सीता विक र ७० वर्षीया देवी विक, तीन वर्षीय आरुस थापा, सात वर्षीया मधु बुढा र ११ वर्षीय मनोज बुढाको ज्यान गएको छ ।

आरुसको बुधबार, मधु र मनोजको बिहीबार शव फेला परेको थियो । ११ वर्षीय सुमन थापा अझै बेपत्ता छन् । पहिरोमा परी १० जना घाइते भएका थिए । त्यसमध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टरमार्फत उपचारका काठमाडौँ पठाइएको छ । उनीहरुको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ ।

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले पहिरोमा परी बेपत्ता भएका मनोजको खोजीमा सुरक्षाकर्मी, स्थानीय र जनप्रतिनिध लागिरहेको बताइन् ।

बडिगाडमा ठूलो विपद् आइपरेको हुँदा पहिरोका कारण विस्थापित भएका नागरिकलाई तत्काल व्यवस्थापन गर्नेदेखि सुरक्षित स्थानमा सार्ने काम भएको उनको भनाइ छ । गम्भीर घाइतेसँग आफू नै राष्ट्रिय ट्रमा सेन्टरमा रहेको भन्दै माथिल्लो तहको सरकारसँग पनि आवश्यक सहयोग माग गरिरहेको अध्यक्ष अधिकारी बताउँछिन् ।

अध्यक्ष अधिकारीले भनिन्, “प्राकृतिक विपत्तिसँग कसैको केही लाग्दो रहेनछ, नागरिकलाई सचेत गराउँदा गराउँदै दुःखद भयो, यसले हामीलाई अपूरणीय क्षति पुगेको छ, घटना हुँदा साथ सबै उद्धारमा लाग्यौँ, धेरैले ज्यान गुमाउनुभएको छ, केहीलाई जीवितै उद्धार गरेर उहाँहरुको उपचारमा लागेका छौँ, पीडितलाई राहत दिने र सुरक्षित ठाउँमा व्यवस्थान गर्ने काम भइरहेको छ ।”