काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदका दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने शंका पैदा भएको बताएका छन् ।
आइतबार पार्टी निकटको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा कोइरालाले दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने शंका पैदा भएको भन्दै सरकारलाई ठिक बाटोमा ल्याउन आवाज उठाउनुपर्ने बताएका हुन् ।
उनले भने,’अहिले कतै केही कमजोरीहरू सरकारमा देखियो भने हामीले आवाज बुलन्द गर्नुपर्छ । किनभने दुईवटा ठूला दल सरकारमा छन् । यसले निरंकुशता जन्मने पनि त्यतिकै शंका छ । हामीहरूले आवाज उठाउन सक्यौँ भनेर पक्कैपनि सरकार ठिक बाटोमा हिंड्छ र हामी अगाडि बढ्न सक्छौं।’
कोइरालाले सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नभएकालगायतका कारणले कांग्रेस र एमालेको सरकार गठन गर्नुपर्ने बाध्यता आएको बताए ।
उनले अहिले पार्टी कमजोर भएको र नेताहरू कहीँकतै अल्झिएको जस्तो अनुभूति भएको बताए । उनेल ८४ को निर्वाचनमा कुनै दलको बैशाखी लिएर नभई एक्लै चुनाव लड्ने क्षमता बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया