ताप्लेजुङको हिमाली बस्ती तोक्पेगोलामा साउन २५ देखि पर्यटन तथा चौरी महोत्सव हुने


ताप्लेजुङ । ताप्लेजुङको हिमाली बस्ती तोक्पेगोलामा पर्यटन तथा चौरी महोत्सव हुनेभएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही साउन २५ गतेदेखि २८ गतेसम्म हुने महोत्सवमा खेलकुदका कार्यक्रमसँगै याक, चौरीलगायतको प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

आइतबार सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवमा खुला वडास्तरीय भलिबल प्रतियोगिता, हाफ खुला म्याराथन प्रतियोगिता तथा महोत्सव अवधिभर स्थानीय समुदायका संस्कार, संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम हुने प्रचारप्रसार संयोजक नुपु छिरिङ शेर्पाले जानकारी दिए ।

खुला वडास्तरीय भलिबल प्रतियोगितामा प्रथम हुनेलाई नगद  एक लाख ११ हजार एक सय ११, द्वितीयलाई नगद ७१ हजार एक सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र दिइने महोत्सवका आर्थिक समिति संयोजक प्रताप साँवा लिम्बूले जानकारी दिए ।

उनकानुसार प्रथम पुरस्कारको सौजन्य न्यूयोर्कमा रहेका रेडपाण्डा होटल सञ्चालक सन्तोष शेर्पाले गरेका छन् भने द्वितीय पुरस्कारको सौजन्य हिमालयन कन्ट्रक्सन प्रालिका ईन्द्र केदेमले गरेका छन् ।

खुला हाफ म्याराथनतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमश नगद ३० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र प्रदान गरिने छ । प्यारासोतर्फ प्रथमलाई १५ हजार र दोस्रोलाई १० हजारसहित प्रमाणपत्र दिइने छ ।

करिब तीन हजार सात सय मिटरको उचाइमा पर्ने तोक्पेगोलामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पछिल्ला केही वर्षदेखि विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन् । प्राकृतिक रूपमा रमणीय तोक्पेगोला आसपासमा सोदुसहित दर्जनाँै पोखरीहरू रहेका छन् । शेर्पा समुदायको बाहुल्यता रहेको यस बस्तीमा पछिल्लो समय आन्तरिक पर्यटकीय गतिविधि पनि बढ्दै गएका छन् ।