म कानुनमा स्नातक, ‘सोसोलोजी’मा स्नातकोत्तर गरेकी छु, तर म कहिल्यै मन्त्री बन्न योग्य भइनँः सचेतक थिङ
काठमाडौँ । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संविधानअनुसार ३३ प्रतिशत महिला मन्त्री हुनुपर्नेमा त्यो व्यवस्था लागू नभएको भन्दै आपत्ति जनाएकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले संविधान अनुसार ३३ प्रतिशत महिला मन्त्री हुनुपर्ने व्यवस्था कहिलेदेखि लागू हुने भन्दै प्रश्न गरेकी हुन् ।
उनले महिलाहरु सक्षम भएपनि मन्त्रिपरिषदमा नपर्नु दुःखको विषय भएको बताइन् । उनले भनिन्, ‘कहिले पनि ३३ प्रतिशत महिला क्याबिनेटमा देख्न नपाइने भो सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस नै हुँदैनन् । मेरो उदाहरण प्रतिनिधि पात्र मात्र हो । म कानुनमा स्नातक गरेकी छु, सोसोलोजीमा स्नातकोत्तर गरेकी छु तर म कहिल्यै मन्त्री बन्न योग्य भइनँ ।’
उनले आफूले समानुपातिक कोटाबाट उपाधि नपाएको भन्दै महिलाहरू कहिलेसम्म यो समानुपातिक दर्जामा दर्ज हुनुपर्ने हो भनेर प्रश्न गरिन् । उनले भनिन्,‘हामीलाई कहिले समान बनाउने हो ? संविधानमाथि उठेको प्रश्न भएकाले मैले संविधान लागू होस भनेको मात्र हो ।’