काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा पुनले बीचमा बिभिन्न संक्रमणका कारण आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको भन्दै प्रधानमन्त्री ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका हुन् ।
उनले भने,’प्रधानमन्त्रीजीले ऋणको अवस्था, नेपालको अर्थतन्त्रको बारे र जनताहरुमा निराशाको बारे बताउनुभयो । पछिल्लो दुईतीन वर्षमा कांग्रेस माओवादी, एमालेको बीचमा गठबन्धन बन्यो । त्यसबीचका कुराहरुलाई उहाँले निराशाको रुपमा व्यक्त गर्नुभएको छ । त्यसलाई मैले तथ्याङ्कबाट हेर्दा प्रधानमन्त्रीले भनेको जस्तो निराशा छैन । बीचमा केही परिघटनाले आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको छ ।’
उनले तथ्याङ्क अनुसार अर्थतन्त्र सकारात्मक रहेको भन्दै यस्तो अवस्थामा निराशाको कुरा के आधारमा गरिरहनुभइको छ भन्दै उनले प्रश्न गरे । तथ्याङकलाई बङग्याएर यसरी भावनाको आधारमा चल्न नमिल्ने भन्दै पुनले १९ महिनाको वस्तु आयात गर्ने पर्यात विदेशी मुद्रा रहेको बताए ।
उनले भने,’प्रधानमन्त्री सरकार छोड्दै गर्दा आर्थिक वृद्धिदर ४.८ प्रतिशत थियो । त्यसपछि तीन वर्षमा थुप्रै संक्रमणहरु भए । अहिले चार प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर छ । गत १.९ थियो । अहिले चार प्रतिशतको हाराहारीमा सकारात्मक अवस्थामा छ कसरी निराशाको कुरा गर्नुहुन्छ ? पहिला ओलीज्यू प्रधानमन्त्री हुँदा कति थियो?उहाँको भाषण लेखिदिने साथीले हेरिदिनुहोला ।’

प्रतिक्रिया