त्रिभुवन विमानस्थलबाट सुनसहित तीन जना पक्राउ


काठमाडौँ । प्रहरीले भन्सार छली लैजान लागेको करिब ५२ ग्राम तौल बराबरको सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ, बाग्लुङ नगरपालिका–४ का ३६ वर्षीय शम्शेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ का ३६ वर्षीय नुमबहादुर थापामगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ का ४३ वर्षीय साहेव देवन रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार हिमालयन एयरलाइन्सको उडानद्वारा नेपाल आएका शम्शेर र नुम बहादुरलाई जनही  नौ/नौ हजार दिएर भन्सार छली गर्न लगाई ल्याएको उक्त धातु साहेवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट अवैध रुपमा सङ्कलन गरी लैजान लागेको अवस्थामा फेला पारी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूका साथबाट प्रहरीले बाला दुई थान, औँठी एक थान र चन्द्र विन्दु एक थानसहित बिहीबार बिहान विमानस्थलमा खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रवक्ता कार्कीले बताए ।

बैङ्किङ कसुरमा एक जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अरूको नागरिकता दुरुपयोग गरी बैङ्कमा खाता खोली बैङ्किङ कसुरजन्य कार्य गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

दोलखा साबिक नाम्दु गाविस–४ हाल परिवर्तित बैतेश्वर गाउँपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–७ चाबहिल ३४ वर्षीय ध्रुवकृष्ण शर्मा पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

आचार्यले भने, ‘पक्राउ परेका शर्माले धनुषा शान्तिपुर–६ का सन्तोषसिंह दनुवारको नागरिकता दुरुपयोग गरी सन् २०२२/०४/०३ मा मुक्तिनाथ विकाश बैङ्क लिमिटेडको शाखा कार्यालय ठिमीलाई झुक्यानमा पारी आफ्नो फोटो र मोबाइल नम्बरसमेत राखी खाता खोलेको र उक्त खाताबाट चेकबुक निकाली र सो चेकबुकको दुरुपयोग गरेको भन्ने मुक्तिनाथ विकास बैङ्कको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’

उनलाई काठमाडौँ महानगरपालिका–७ चाबहिलबाट बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको सूचना अधिकारी आचार्यले बताए । उनले भने, ‘पक्राउ परेका शर्मामाथि थप अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।’