मनाङको बाटो सधैँ जोखिमपूर्ण, सास्तीमा यात्री



मनाङ । देशभर मनसुन सुरु भएको छ । मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ । निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ ।

सोमबारदेखि लगातार परेको वर्षाका कारण बाढीले काठेपुल बगाउँदा डुम्रे-बेँसिशहर-चामे सडक पूर्णरुपमा अवरुद्ध छ । मनसुन सुरु भएसँगै स्थानीयवासीमा त्रास बढेको छ ।

मनाङ बाढीपहिराको जोखिम क्षेत्र मानिन्छ । त्यसैले मनाङवासीलाई बाढी-पहिरोको सधैँ त्रास रहन्छ । पर्यटकीय क्षेत्र भएकाले पर्यटकको यहाँ बाह्रैमास आवगमन हुने गर्छ । बाढीपहिराका कारण सडक अवरुद्ध भइरहँदा उनीहरुले सास्ती भोग्नुपर्ने अवस्था छ ।

तिमाङ खोलाले काठे पुल बगाएपछि अवरुद्ध भएको सडक खुलाउन सकस भएको छ । खोलाको बहाव नघट्दासम्म उक्त सडकमा सवारीसाधन नचलाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

बाढीपहिराका कारण सडक मात्र नभइ मनाङमा विद्युत्, खानेपानी सेवा पनि ठप्प हुन्छ । सदरमुकाम चामेमा समय समयमा सञ्चार सम्पर्क टुट्ने समस्या छ ।

सडक अवरुद्ध हुँदा जिल्लामा खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक वस्तुको अभाव हुने गरेको छ । स्थलमार्ग डुम्रे–बेँसीशहर–चामे सडक सञ्चालन गर्न सकस हुँदै आएको छ । बिरामीलाई उपचारका लागि अस्पताल पुग्न निकै कठिन हुन्छ ।

‘वर्खामा जोखिम र सकसपूर्ण अवस्था मोल्नु पर्छ”, मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले भने । सो अवधिमा सबैभन्दा बढी सकस खाद्यान्न ढुवानी गर्न हुने गरेको उनको भनाइ छ ।

लमजुङको बेँसीसहर हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था भएकाले छोटो समयमा नै खोलामा पुल निर्माण गरिसक्नुपर्छ । विसं २०७८ मा ठूलो क्षति व्यहोरेको सम्झदै गुरुङले मुस्ताङ हुँदै ढुवानी गर्दा अन्नपूर्ण फेरो पदमार्गको सबैभन्दा उच्च विन्दु थोराङ्ला भञ्ज्याङ (५४१६मि) पार गरेर सामान ल्याएर गुजारा चलाएको सुनाए ।

बाढीपहिराले सधैँ मनाङको माथिल्लो क्षेत्र समस्यामा पर्छ । खाद्यान्न ढुवानी गर्न समस्या हुन्छ । चामे-५ का फुर्वा लामा भन्छन्, ‘अहिले तिमाङ खोलाको बाढीले काठेपुल बगायो । माथिल्लो मनाङ आवतजावत गर्ने अवस्था छैन । लामो समय अवरुद्ध भयो भने अत्यावश्यक सामग्री पुर्‍याउनै समस्या हुन्छ ।’ मनाङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङको यात्रा धेरै जोखिमपूर्ण छ । खहरे खोला, सानातिना खोला, घट्टेखोलामा आएको बाढीले यहाँको सडक सञ्जाल विच्छेद हुने गरेको उनले बताए । स्थानीयवासी सौर्य ऊर्जामाथि निर्भर रहन्छन् ।

काठेपुल बगाएपछि समयमै पुल मर्मतको काम गर्न कठिन हुने प्रजिअ लामिछानेले बताए । बाढीको बढी जोखिमयुक्त क्षेत्र मनाङको प्रवेशद्वार तालगाउँ हो ।

बाढीले बेँसीसहर–चामे सडकको पक्की पुल बगायो

तिमाङ खोलामा आएको बाढीले बेँसीसहर–चामे सडकमा रहेको पक्की मोटरेवल पुल बगाएको छ । गए राति तिमाङको तल्लो क्षेत्रको पक्की पुल बगाएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताए ।

यसअघि मङ्गलबार साँझ तिमाङ खोलामा राखिएको काठेपुल बगाएको थियो । गए राति सो क्षेत्रको तल्लो भागमा रहेको तिमाङको ठूलो छहराको पुल बगाएको उक्त योजना कार्यालयले जनाएको छ ।

सानो छहराको पुलमा ढुङ्गा र ग्रेग्र्याङ थुप्रिएर क्षति पुर्‍याएको सूचना अधिकारी पोखरेलले बताए । सो ठाउँमा काठेपुल विस्थापित गरी दुई वर्षअघि पक्की पुल निर्माण गरिएको थियो ।

उक्त योजना कार्यालयका अनुसार ठूलो छहरामा स्ल्याब कल्भर्ट पुल रु १९ लाख ९४ हजार तथा सानो छहरामा कल्भर्ट पुल रु ११ लाख ८५ हजामा निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँ प्रहरीले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने

  काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने

सुप्रिम सहकारीबाट गोर्खा मिडिया १० करोड र जीबी राईका अन्य कम्पनीमा ५२ करोड प्रवाह भएको फेला

काठमाडौं । सहकारीको रकम अपचलनको छानबिन गर्न गठित उच्चस्तरीय विशेष समितिले बुटवलको सुप्रिम

भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा दुई बेपत्ता, सातजना घाइते

चैतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुईजना

धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला

धनुषा । जिल्लाको सबैला नगरपालिका-६ गोविन्दपुरस्थित भग्नावशेष अवस्थामा रहेको जनककाली ऐतिहासिक मठेश्वरनाथ मन्दिरको