नक्कली ‘मुर्दारहरू’
डा. गोविन्दशरण उपाध्याय ।
समयः १ बजे, स्थान झोर
झोरको एउटा खेतमा पुग्दा केही युवायुवतीहरू रोपरे बनेर खेतमा हिलो खेल्दै थिए । त्यही खेतको रमाइलो हेर्न म एकै छिन, त्यहाँ उभिएको थिएँ । त्यही खेतको एउटा कुनामा ५५–६० वर्षकी एकजना महिला खेत रोप्दै हुनुहुन्थ्यो । म उहाँको नजिकै परेपछि…
‘नक्कली मुर्दारहरू, झरीमा रुझेर खेत रोप्नु परे पनि थाहा हुन्छ, नक्कल पारेर धान फल्ने भएर र भात खान पाइने भए मैले पनि यिनेरूले जस्तै नक्कल पार्थें’– झोरको एउटा खेतमा काठमाडौंबाट गएका युवायुवतिहरूले खेतमा रोपाईंको नक्कल गरेको देखेर झर्को मान्दै भन्नुभयो ।
“यिनीहरूले कृषिको राम्रो प्रचारप्रसार गर्छन् नि दिदी’– मैले भने ।
‘जसले माटोमा हात पर्यो भने घीन मानेर दश चोटी हात धुन्छन्, अरू बेलामा खेतमा गएर सिन्को भाँच्दैनन्, यस्ताले गरे कृषिको प्रचारप्रसार !’ मेरै नातिनातिनाहरूले खेतीमा सिन्को भाँच्दैनन् अनि, मीठो र असल तिनेरुलाई नै चाहिन्छ । आजका स्कुलहरूले जीवनको लागि सबैभन्दा महत्वपूर्ण खेती गर्न सिकाउन्नन्, नक्कलमात्र गर्न सिकाउँछन् । माटो छोएर नक्कल पार्दैमा धान, मकै, कोदो, सागसब्जी फल्छ ? स्कुलले बाँच्नको लागि खेतीपाती गर्न जान्ने सीख दिनुपर्छ कि पर्दैन ?
………………….
दिदीका अन्तिम वाक्यहरू ‘स्कुलले बाँच्नको लागि खेतीपाती गर्न जान्ने सीप दिनुपर्छ कि पर्दैन ?’ ले म अवाक् भएँ । मान्छेले विज्ञानको विकास गरेर मङ्गलमै बसाइ सरे पनि भोजनचाहिं माटोकै उत्पादन हो, नक्कल परेर अन्न फल्दैन ।के यी युवाहरू आवश्यक परेको बखतमा साच्चिकै बर्खेझरीमा रुझ्दै माटोसँग मित्रता गाँस्दै रोपाइँ गरेर अन्न उत्पादन गरेर आफ्नो र परिवारको पेट भर्न सक्षम छन् त, तपाईंहरूलाई के लाग्छ ?