‘फ्लोर क्रस’ गरेको भन्दै माओवादीद्वारा सांसद देवकोटमाथि कारबाही


काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएको भन्दै माओवादीले सांसद देवकोटामाथि शुक्रबार कारबाही गरेको हो । देवकोटामाथि कारबाही गरिएको जानकारी माओवादीले प्रदेश सभा सचिवालयलाई पठाइसकेको छ ।

माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको पत्र सभामुखलाई पठाइसकेको जनकारी दिए ।

नेपाल समाजवादी पार्टीका नेता देवकोटाले २०७९ को चुनावमा नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचन जितेका थिए ।

उनले आफू माओवादीको नभई समाजवादीको सांसद रहेको र मुख्यमन्त्रीलाई मत दिन समाजवादीका केन्द्रीय नेताले दिएको निर्देशन कार्यान्वयन मात्रै गरेको बताउँदै आएका छन् ।

माओवादीले भने आफ्नो चुनाव चिह्न लिएकोले देवकोटा माओवादी संसदीय दलकै ह्विप लाग्ने बताउँदै आएको छ । अहिले जारी संसद बैठकको अन्तिममा सभामुख कृष्णप्रसाद धितालले माओवादी केन्द्रले गरेको कारबाहीको पत्र पढ्ने र पद रिक्त भएको घोषणा गर्ने तयारी छ ।