अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासम्बन्धी प्रस्ताव संसदबाट एकैदिन दुईपटक पारित


काठमाडौं । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरेको हो ।

त्यसअघि बैठकमा उक्त सम्झौतामाथि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले सम्झौताका कारण मुलुकलाई हुने लाभका बारेमा जिज्ञासा राखेका थिए ।

सांसदहरुको जिज्ञासाको जवाफ दिदै मन्त्री बस्नेतले ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा सम्झौता भएको जानकारी दिए । सम्झौमा हस्ताक्षर गर्ने क्रममा प्रयाप्त राष्ट्रिय हितलाई ध्यान दिइएको र मुलुकलाई थप कुनै आर्थिक दायित्व नथपिने उनले बताए ।

मन्त्री बस्नेतले सम्झौताकै कारण ऊर्जा उत्पादनमा नेपाललाई कुनै बाधा नपर्ने स्पष्ट पारे । ऊर्जा मिश्रणको अवधारणाबाटै सौर्य ऊर्जाबाट मुलुकलाई सुख्खा याममा आवश्यक पर्ने विधुत पूर्ति गर्न सकिने भन्दै उनले पहिलो प्राथमिकता भने जलविधुत नै रहेको बताए । त्यस्तै उनले सरकारले जलाशययुक्त जलविधुत आयोजनालाई पनि महत्वका साथ अघि बढाउने सोचमा रहेको जानकारी दिए ।

सभामुख झुक्किएपछि…
सभामुख देवराज घिमिरे संसदीय प्रक्रियामा झुक्किँदा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौता संसदबाट एकैदिन दुई पटक पारित भएको छ ।सुरुमा सभामुखले ऊर्जामन्त्री बस्नेतलाई सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए ।

मन्त्री बस्नेतले छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । त्यसपछि उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरे । सभाले सर्वसम्मत स्वीकार गरेको थियो । त्यसपछि सांसदहरूले सम्झौताका प्रावधानहरूमाथि धारणा राखे । सांसदहरूले धारणा राख्नेक्रम सकिएपछि सभामुख घिमिरेले मन्त्री बस्नेतलाई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन समय दिए ।

मन्त्रीले जवाफ दिइसकेपछि सभामुखले सम्झौता अनुमोदन गर्ने प्रस्ताव पेस गर्न समय दिनुपर्ने थियो । अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने समय नै नदिएर सभामुख घिमिरेले सिधै निर्णयार्थ पेस गरे । सभामुखले हुन्छ र हुन्न भन्न लगाएपछि बहुमत सांसदहरूले हुन्छ भने । नेमकिपाका सांसद प्रेम सुवालले हात उठाएर हुन्न भने । त्यसपछि सभामुखले सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरे ।

जबकी अनुमोदन गरियोस् भन्ने प्रस्ताव नै पेस भएको थिएन । संसद सचिवालयका कर्मचारीहरूले त्रुटि भएको बताएपछि सभामुख घिमिरेले त्रुटि भएको भन्दै फेरि प्रक्रिया अगाडि बढाए र दुई पटक पारित भएको थियो ।