काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला सुनाउने भएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा बुधबार सुनुवाइ सकिएसँगै फैसला सुनाउने मिति तोकिएको अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिएका छन् ।
काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी मुद्दामा सर्वोच्चले बुधवार सुनुवाइ सकेर फैसला सुनाउने पेसी तोकेको हो । लामकी पत्नी पूर्णीमाया लामाले आफ्ना पति अर्जुन लामालाई सापकोटासमेतले २०६२ वैशाखमा अपहरण गरी असारमा हत्या गरेको प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
तर, प्रहरीले जाहेरी नलिएपछि सर्वोच्च अदालतले २०६४ सालमा उक्त निवेदन दर्ता गरी सापकोटाविरुद्ध हत्या अभियोगमा अनुसन्धान–अभियोजन गर्नु भनी परमादेश जारी गरेको थियो । त्यही परमादेशका आधारमा २०६५ साउन २७ गते सापकोटाविरुद्ध ज्यान मुद्दाको अभियोग लगाइ काभ्रे प्रहरीमा जाहेरी दर्ता भएको थियो ।
तर प्रहरीले सापकोटालाई फरार सूचीमा राखेको थियो । सापकोटा प्रहरी र अदालतको सम्पर्कमा नगएपछि लामाकी पत्नी पूर्णीमायाले २०६९ मंसिर ७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
२०७२ चैत २२ मा तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । २०७५ फागुन ३ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा नेतृत्वको संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेको उक्त मुद्दा वर्षौंसम्म हेर्न नभ्याइनेमा पर्दै आएको थियो ।

प्रतिक्रिया