अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !
नारायण गाउँले ।
चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै पनि बालेनले चुनाव जित्ने सर्वेक्षण प्रक्षेपण गर्नुअघि धेरैले सिरियसली लिएका थिएनन् । स्रोत र अध्ययनबिना नै एक दुई वर्षको मिति नै तोकेर मेट्रोदेखि मोनो रेलसम्म ठूला ठूला योजना बाँडेर चुनाव जितिने नजीर थियो देशमा । चुनावको मुखमैं पाँच वर्षमैं मेट्रो बनाउने क्षमता र साधनस्रोत मेयरसँग हुँदैन भनेर उनले सत्य बोल्ने हिम्मत देखाए । ढुङ्गेधारा, फुटपाथ र जात्राहरू बारे बोलेर अनि काठमाडौंको मौलिक पहिचान र इतिहासबारे चासो देखाएर उनले चुनाव जिते ।
राजनीतिका मसिना–मसिना घटना र व्यक्तिमाथि टिप्पणी र गाली गरेको ‘विगत’ उनीसँग छैन । बिना तयारी नै कल्पना गर्न सकिने जति सपना कोचेको घोषणापत्र पनि छैन । माइक पायो कि खोकी हाल्ने बानी पनि छैन । हिजो अरूलाई यस्तो भनेको थिइस् त, आज खोइ त भन्ने आधार पनि छैन । फेसबुकका पुराना पोस्ट खोज्यो, रÞ्याप र फोटोमात्रै आउँछ ।
दिनकै दशवटा फाइल खोल्छु, भ्रष्ट जतिलाई थुन्छु, भागमभाग बनाउँछु, विदेश पसेका जति सबैलाई काम र माम दिएर फिर्ता ल्याउँछु, ठूलो माछा पÞmसाउँछु, न्यूयोर्क जस्तै दश लेनका सड़क खोल्छु, काठमाडौंलाई सिङ्गापुर बनाउँछु, पाँच वर्षमैं आर्थिक क्रान्ति गर्छु, अर्थतन्त्र सय खरबको बनाउँछु जस्तो भाषण गरेर चुनाब जितेको भए विरोधीले हरेक मिनेट एउटा स्क्रिन–सट हालेर विरोध गर्दा हुन् । ठिटोले काठमाडौंको फोहोरबारे बोलेर चुनाव जित्यो, फोहोर नियन्त्रण गर्यो । विरोध गर्नु त केमा गर्नु ! अलिकति ’लक’ पनि हो कि ?
भनिन्छ, चर्चामा रहनकै लागि पनि एकदुई काण्ड त चाहिन्छ । तर चर्चा छ, काण्ड छैन । व्यक्तिगत र सार्वजनिक जीवनमा पनि औंला उठाउने ठाउँ छैन । बेलाबेला अलिकति अराजनैतिक आक्रोश त देखिन्छ तर व्यक्ति या दल तोकेर तल्लो स्तरको गाली र चुनौती दिएको पनि छैन । झट्ट हेर्दा पूरै अटोक्र्याट जस्तो देखिन्छ तर अन्य नगरपालिकातिर जस्तो मेयर र उपमेयरबीच तँ ठूलो कि म ठूलो भन्ने झगड़ा पनि छैन, समन्वय र सहकार्यमैं काम भएको जस्तो लाग्छ । सुरुमा विरोध भएजस्तो देखिने नगरसभा पनि अहिले शान्त र सहयोगी छ । एक्लै लाइमलाइट र क्रेडिट लिने रहर पनि देखिन्न । फरक पार्टीकी भए पनि उपमेयर जहाँ पनि हिस्सेदार नै देखिन्छिन् । न मिडियासँग दुश्मनी या प्रतिशोध छ न खास प्रेम नै । पद त कार्यकारी नै हो र पनि दिनदिनै सफाइ दिनुपर्ने विवाद पनि देखिन्न । महानगरको बजेट कतिवटा मन्त्रालयभन्दा ठूलो होला, यत्रो बजेट चलाउँदै गर्दा कसैले प्रश्न उठाउने ठाउँ नपाउनु ठुलो कुरा हो ।
शत्रु नै कम भएर हो कि, तिनले ठाउँ नपाएर हो कि, अलि बढ़ी लक्की नै भएर हो कि बालेन अहिलेसम्म अरूभन्दा भिन्न छन् । आजसम्म आफ्ना पोस्टमा सबैभन्दा कम गाली खाने ’नेता’ पनि शायद उनै होलान् । जे लेखे पनि नपढी लभ रियाक्ट गर्नेहरू कति धेरै छन्, तर गाली गर्नेहरू चाहिँ चश्मा लगाएर खोज्न पर्छ । आफूबाहेक अरू सबै खराब भन्ने त हाम्रो राष्ट्रिय सोच नै हो । ममा पनि छ, तपाईंमा पनि छ । कसैलाई छ भन्ने थाहा भएरै छ, कसैलाई थाहा नभइ नै पनि छ । बालेनमा पनि होला, अरू नयाँ र पुरानामा पनि होला । तर सन्तोषको कुरा, बालेनको हरेक बोली र भाषणमा त्यो पोखिएको छैन ।
उनलाई मन पराउनेका लागि या यति पढ्दै गर्दा पहिलो इम्प्रेशन पर्नेका लागि बालेन मात्रै ’राम्रो’ भन्ने लागेको हुन सक्छ । एक त को राम्रो भन्ने ग्यारेन्टी छैन । दोस्रो, सबै नराम्रो भए त एक्लो बालेनले पो गर्ने के हो र ? राम्रा त अरू पनि होलान् र छन् तर ती सबै बालेन जति लक्की छैनन् । कतिसँग उत्साह र सोच नयाँ होला तर ‘लिगेसी’ पुरानो छ । कतिसँग भविष्यको उज्यालो होला तर विगतको धूमिल छायाले पछ्याइरहेछ । कतिले उनले जस्तै इमान र साहस देखाएर सत्य बोल्न सक्दैनन्, सबै चेन्ज गर्छु भन्ने भाषण गर्न पर्ने हुन्छ । चेन्ज गर्न त सजिलो छैन । सजिलो भएको भए त्यसअघि नै कसै न कसैले त गर्दो हो । हाम्रो राजनीति त छानबिन गर्ने कि नगर्ने, फाइल खोल्ने कि नखोल्ने, मेरो मात्रै खोल्ने कि तेरो पनि खोल्ने जस्तो कुरोमा सिँगौरी खेल्न व्यस्त छ । आमजनताको पीड़ा र देशका प्राथमिकताबारे कसले सोच्न भ्याउला र ? जति हेर्यो त्यति दिक्क लाग्दो दृश्य छ । कति निराश बन्नु ? अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !