हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट बैंकले शुक्रबार समीक्षा गर्दै ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने उद्घोष गरेको छ ।

यस्तै घर र गाडी किन्न केन्द्रीय बैंकले सजिलो बनाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गर्ने बताएको छ ।

यस्तै घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने भएको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर रु.१० खर्ब ८२ अर्ब ६२ करोड पुगेको जानकारी गराएको हो । यस्तै चालु आर्थिक वर्षको नौ महिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.९ प्रतिशतले घटेको बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार १८.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वस्तु निर्यात ३.७ प्रतिशतले घटेको छ भने वस्तु आयात २.८ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको बैंकले जनाएको छ ।

आयातमा आएको संकुचनका कारण शोधनान्तर बचत बढ्न गई बाह्य क्षेत्र सुदृढ रहेको पनि बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा चालु खाता रु.१७९ अर्ब ४८ करोड र शोधनान्तर३६५ अर्ब १६ करोडले बचतमा रहेको जनाइएको छ ।