काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गिरीबन्धु टि स्टेट जोगाउन अधिवक्ता ओमप्रकाश अर्यालले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
आइतबार सामाजिक संजालमार्फत मेयर साहले झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट)अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले बदर गरेको भन्दै अधिवक्ता अर्यालको प्रशंसा गरेका हुन् । सरकारको निर्णयविरुद्ध अधिवक्ता अर्यालले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
उनले भनेका छन्, ‘एउटा मान्छेको इमानदारिताले के सम्म गर्न सक्छ भन्ने उदाहरण हो यो केस । झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट)अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ । अब त्यहाँ कि चिया बगान हुन्छ कि त्यो जग्गा सरकारको हुन्छ ।यो जग्गा अहिले को अवस्थामा १० अर्ब भन्दा धेरै मूल्यको रहेको छ ।’
उनले सर्वोच्चको फैसला आएसँगै अब तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘अब तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनु पर्छ यो सरकारले । जसजसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृयाबाट बैना फिर्तामा जानू होला तपाईंहरुको जग्गा प्राप्तीको बाटो सकिएको छ । देशको अर्बौंको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल हाम्रो कानुनी सल्लाहकार ओमप्रकाश अर्याल सरलाई धेरै धेरै धन्यवाद । धन्न तपाइँ जस्तो कोही हुनु हुन्छ र सरकारी सम्पत्ति बचेको छ ।’

प्रतिक्रिया