बन्द भएको ६ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु



भोजपुर । उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर–विराटनगर उडान थालेको हो । बन्द भएको छ वर्षपछि विराटनगर यात्रा गर्न पाएकामा यात्रुहरुले खुसी महसुस गरेका छन् ।

भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले खादा र केक बाँड्दै यात्रुलाई विराटनगरका लागि शुभकामना दिएका थिए । उनका अनुसार काठमाडौँबाट आएको निगमको जहाजले नौ जना यात्रु लिएर विराटनगर उडेको छ ।

उडान बन्द भएको लामो समयपछि विराटनगर उड्न पाएकामा यात्रु उषा थापाले खुसी महसुस गर्दै भनिन्, “समस्यामा परेका यात्रुलाई विराटनगर जान अब सहज भएको छ, हामी जिल्लावासी त्यसैमा खुसी छौँ, निगमले नियमित उडान गर्न जरुरी छ ।” वायुसेवा निगमले हप्तामा शनिबार र बिहीबारका लागि विराटनगर उडान तालिका राखेको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले बताए । “अब उडान तालिकाअनुसार नै विराटनगर उडान हुनेछ । अहिलेका लागि काठमाडौँबाट भोजपुर आएर विराटनगर जाने र विराटनगरबाट फर्किएर फेरि काठमाडौँ जाने तालिका बनाएका छौँ”, उनले भने ।

विमान अभाव लगायतका समस्या देखाउँदै निगमले भोजपुर–काठमाडौँ उडान तालिका कायम राख्दै विराटनगर उडान बन्द गरेको थियो । विसं २०७४ पछि विराटनगर उडान हुन सकेको थिएन ।

जिल्लावासीको मागलाई सम्बोधन गर्दै निगमले तत्कालका लागि हप्तामा दुई उडान गर्न लागेको स्टेसन प्रमुख खड्काको भनाइ छ । हवाई उडान बन्द हुँदा जिल्ला अस्पतालबाट सुविधा सम्पन्न अस्पतालमा सिफारिस गरिएका बिरामी लैजान तथा ज्येष्ठ नागरिकलाई समस्या हुँदै आइरहेको थियो ।

ज्येष्ठ नागरिक र बिरामीलाई समस्या भइरहेको अवस्थामा बन्द रहेको उडान फेरि सञ्चालन हुँदा आवागमन सहज हुँदै जाने नगरप्रमुख आलेले बताए । उनले भने, “अब तोकिएको दिन सेवा सञ्चालन हुनेगरी निगमले उडान गर्नुपर्छ, जसले समस्यामा परेका नागरिकलाई सेवा पुगोस् ।”

वायुसेवा निगम भोजपुरले भोजपुर–विराटनगर भाडा चार हजार २९ रुपैयाँ कायम भएको जनाएको छ । नागरिकको सेवालाई ध्यान दिँदै इ–सेवामार्फत पनि टिकट लिने व्यवस्था मिलाइएको छ ।

पाँच सय ४५ मिटर लम्बाइ भएको विमानस्थल कालोपत्र भए पनि विराटनगर उडान भने ठप्प थियो । प्रदेश राजधानी जान र आउन पुनःउडान सुरु भएपछि सहजता थपिएको भोजपुरवासी शङ्करप्रसाद आचार्यको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

सुरुङ्गा (झापा) । नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया

पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

  तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको

मकवानपुरमा भीरबाट कार खस्दा तीनजना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा शनिबार बिहान

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

  महेन्द्रनगर (धनुषा) ।  जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु