गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेसी


काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

कांग्रेस संसदीय दलका नेता एव निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।उनले सभामुखलाई समेत जोडेर बहुमत दाबी गर्ने कार्य असंवैधानिक भएको दाबी रिटमा गरेका छन् ।

सभामुख तटस्थ व्यक्ति भएकाले कुनै पनि दलका लागि बहुमत पुर्याउन नमिल्ने जिकिर रिटमा गरिएको छ । यसअघि कोशी प्रदेशमा नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध यही आधारमा रिट दायर गरेको थियो ।

सर्वोच्चले सभामुखको मत जोड्न नपाउने आदेश गरेपछि कोशीको सरकार ढलेको थियो । उक्त रिटको पेशी चैत २८ गते तोकिएको छ। सोही दिन सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा अधिकारीको सरकार ढल्ने छ।