असल स्वास्नी–२



डा. गोविन्दशरण उपाध्याय ।
मैले नेपाली जनजीब्रोमा प्रचलित ‘लोग्नेस्वास्नी’ शब्दको प्रयोग गरेको पढेर केही व्यक्तिके फोन गरेर ‘स्वास्नी’ भन्नु ‘लैङ्गिक’ अपमान हो । यस्तो शब्द प्रयोग गर्नु उचित हुन्न भन्ने सल्लाह दिनुभयो । केटाकेटीलाई ‘आउनुस, जानुस्’ भनेर सिकाउने, महिलालाई सम्बोधन गर्दा ‘आइमाई’ भन्न हुँदैन भन्नेजस्ता चिन्तनको निरन्तरता हो । तपाईंलाई उचित लाग्दैन भने प्रयोग नगर्नुस्, नेपाली शब्दहरू मर्न नदिन पनि, हामीले जनजीब्रोका शब्दहरू प्रयोग गर्नेपर्छ । यस्तो सल्लाह दिनेहरूप्रति मेरो सम्मानभाव छैन ।

स्वास्नी शब्दको निर्माण संस्कृत शब्द ‘सुवासिनी’बाट भएको हो जसको अर्थ शरीरबाट मीठो सुगन्ध निस्कने’ हो । यो कुनै अपमान जनक वा लैङ्गिक विभेद गर्ने शब्द होइन । लोग्नेले आफ्नो पत्नीलाई ‘स्वास्नी’ भन्नुमा र स्वास्नीले आफ्नो पतिलाई ‘लोग्ने’ भन्नुमा कुनै खोट छैन । अब यी शब्दहरूको प्रयोग गर्ने वा नगर्ने आपसमाः यो कुरा सम्बन्धित लोग्नेस्वास्नीको व्यक्तिगत निर्णयमा भर पर्छ । नेपाली भाषामा भएका हरेक शब्दहरू महत्वपूर्ण छन्, इतिहास र परंपरा बोकेका छन् र यिनको प्रयोग हुनुपर्छ । कसैले कसैलाई ‘होच्याउने, अपमानित गर्ने तथा नराम्रो’ देखाउनका लागि कुनै पनि शब्दको प्रत्यक्ष वा अप्रत्यक्ष प्रयोग गरिनु हुँदैन ।

त्यसो भए सुवासिनी अर्थात् कस्ता स्वास्नी असल हुन्छन् ? वा एउटा स्वास्नीको रूपमा तपाईंको कस्तो व्यबहारले तपाईं ‘असल स्वास्नी’ बन्नुहुन्छ ? यस विषयमा यहाँ छलफल गरिने छ । हो, धर्म, संस्कृति, परम्परा, आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक तथा अन्य धेरै आन्तरिक र बाह्य परिवेशका कारण “असल र कमसल“को अर्थ फरक हुन सक्छ तर एउटी स्वास्नीको रूपमा धेरैजसो लोग्ने, लोग्नेका परिवार तथा समाजले बुझ्नेबुझाउने नेपाली परम्पराको वारेमा चर्चा गर्ने छौँ । नेपाली समाजमा ‘गृहस्वामिनी, घर, पत्नी, जाया, भार्याआदि शब्दले ‘स्वास्नी’लाई सम्बोधन गरिन्छ । यस्तो गौरवपूर्ण सम्बोधन र त्यसले बोक्ने गुरुता स्वीकार गर्नु वा नगर्नु सम्बन्धित व्यक्तिको इच्छा र बुझाईमा भर पर्छ ।
–वैदिक संस्कृतिमा विवाह नगरी कुनै पनि स्त्री तथा पुरुषलाई ‘लोग्नेस्वास्नी’ मानिंदैन । समाज, अग्नि, आकाश र दिशाहरू साक्षी राखेर ‘दाम्पत्य’ स्थापित हुन्छ । अग्निकुण्डको सात पटक परिक्रमा गर्दै लोग्ने र स्वास्नी दूवैले एकआपसमा ‘प्रतिज्ञा गर्छन् । स्वास्नीले विवाह बखत गरेका निम्न प्रतिज्ञाहरू अक्षरशः पालन गर्ने हो भने दाम्पत्य जीवन सुखी हुने कुरामा शङ्का गर्न मिल्दैन । जसले विवाह संस्कारमा विश्वास गर्दैनन् तर ‘लोग्नेस्वास्नी’कै भूमिकामा छन्, तिनका लागि पनि स्वास्नीले यज्ञलाई साक्षी राखेर गरेका प्रतिज्ञाहरू उपयोगी नै हुने छन् । त्यसो भए वैदिक शास्त्रले असल स्वास्नी कसरी बन्न सकिन्छ उत्तर तलअनुसार दिएको छ ।

१. म अर्धांगिनी : अग्निको परिक्रमा गर्दै स्त्रीले गरेको पहिलो प्रतिज्ञा हो । हरेक स्त्रीले आफ्नो लोग्ने, लोग्नेको परिवार, लोग्नेका आफन्त तथा लोग्नेका कर्ममा प्रेमपूर्वक उपस्थिति जनाउनु पर्छ । पतिको अर्थ मालिक र पत्नीको अर्थ मालिक्नी हुन्छ तर पत्नीका रूपमा घरपरिवार, आहार–व्यबहार, धार्मिकताआदिमा आधा भूमिका वहन गर्ने प्रतिज्ञा पुरा गरिरहेका स्वास्नीहरूको परिवारमा अशान्ति हुँदैन । उदाहरणका लागि आजभोली लोग्ने र स्वास्नीलाई ‘पार्टनर’ भन्ने प्रचलन छ । कम्पनीमा पार्टनरशीप हुन्छ । आफुलाई कम्पनीमा हिस्सेदार बन्न मन नलागे तुरुन्त छोड्न सकिन्छ तर लोग्नेलाई आफ्नो दाहिने अङ्गको रूपमा स्वीकार गरिसकेपछि अत्यन्त कठोर अवस्थामा पनि लोग्नेसंग अधिकतम समन्वय गर्न सक्नुपर्छ । पार्टनरहरू स–सानो जीवनका उतार–चढाव पनि सहन सक्दैनन् । आफैले जन्माएका बालबालिकालाई “असुरक्षा“मा फालेर अलग हुन्छन् ।

२. कोमलताः महिलाहरूको स्वभाव कमलो हुन्छ । अग्निको परिक्रमा गर्दै स्वास्नीले लोग्नेलाई ‘मैले अत्यन्त शालीनता तथा उदारतापूर्वक तपाईंको परिवारलाई आफ्नै ठान्ने छु र उहाँहरूसंग कोमल ब्यबहार गर्नेछु’ भन्ने बचन दिएकी हुन्छिन् । यहाँ कोमलताको अर्थ लोग्नेका परिवारहरूसंग शिष्ट, सभ्य तथा शिष्टाचार युक्त व्यबहार गर्नुपर्ने अर्थमा बुझ्नुपर्छ । लोग्ने आफ्नो हुने तर लोग्नेका आमावुवा, दाजुभाई तथा सम्बन्धिहरूलाई आफ्नो नठान्ने ‘स्वास्नी’ कोमल हुनै सक्दैनन् । मीठो, बोली, सहयोगी स्वभाव, घरमा उपलब्ध पानी वा भोजनले स्वागत र उठवस गर्ने ठाउँको व्यबस्थाका लागि पैसा चाहिन्न ।

उदाहरणका लागि ‘मैले तिमीसँग विहा गरेको हो, तिम्रो परिवारको नोक्कर बन्न होइन । मलाई मेरो निजी सुख प्यारो छ भन्दै दिनहुँ झगडा गर्ने श्रीमती भन्दा घरपरिवारसंग प्रेमपूर्वक व्यबहार गरेर आफ्ना निजी सुखको पनि उपभोग गर्ने स्वास्नीहरूले असलमा ‘गृहिणी हुन्छन् ।’ तर एउटा हातले ताली बज्दैन, परिवारका सदस्यहरूले पनि ‘गृहिणीका रूपमा’ सम्मान दिन जान्नुपर्छ र मायालु सेवा प्राप्त गर्न सक्नुपर्छ । आत्मविनाश गर्ने कोमलता र सद्व्यवहारको आवश्यता छैन ।

३. तिम्रो प्रगति मेरो प्रगति : आजको युगलाई ‘प्रतिस्पर्धा’को युग भनिन्छ तर लोग्नेस्वास्नी एकआपसमा प्रतिपर्धी नभई पूरक हुन् । प्रकृतिले स्वास्नीलाई सन्तान ग्रहण गर्ने र जन्माउने विशेष अधिकार दिएको छ । सन्तान जन्माउनु जति मानसिक सुख हो त्यतिनै भौतिक दुःख पनि हो । एउटी आमाले १८ वर्षको उमेरसम्म आफ्नो व्यक्तिगत स्वतन्त्रता त्यागेर बालबालिकाको हेरविचार र पालनपोषण गर्नुपर्छ । हरेक अवस्थामा लोग्नेको प्रगतिलाई आफ्नै प्रगति ठान्ने र लोग्ने र लोग्नेका परिवारसंगको सहकार्यलाई आफ्नै मान्ने व्यबहार प्रदर्शन गर्न सक्नुपर्छ । प्राचिनकालमा बालबालिका हुर्काउने जिम्मा ‘स्वास्नीमा’ हुन्थ्यो । आज ठ्याक्कै एस्तो नहोला तर सन्तानका लागि आमा सबैभन्दा प्यारो हुन्छ । यहाँ लोग्नेको प्रगतिको चाहना गर्नुको अर्थ लोग्नेलाई प्रगतिका लागि सक्दो सहयोग गर्ने व्यबहार हो ।

उदाहरणका लागि आजभोली महिला र पुरुष समान हुन् भन्ने गरिन्छ । बौद्धिक, सामाजिक, सांस्कृतिक, राजनैतिक तथा सम्पत्तिमा महिलाको समान हक हुनुपर्छ तर गर्भधारण गर्ने, हुर्काउने तथा सेवा गर्ने कुरा पनि महिलाको प्राकृतिक गुण हो । आफ्नो प्रगति नहुनुमा लोग्नेलाई दोषारोपण गर्ने प्रवृत्ति बढ्दो छ । आफ्नो व्यक्तित्व पनि विकास गरौँ र लोग्नेको प्रगति हुँदा खुशी व्यक्त गर्न सिकौं । सायद यो पनि स्वास्नीमा हुनुपर्ने गुण हो ।

४. पतिब्रताः आजका केही मोडर्न महिला र पुरुषहरूलाई ‘पतिब्रता’ शब्द सुन्यो कि भाउन्न आउँछ । महिला वा पुरुष पति÷पत्नीब्रता हुँदा आधुनिकताका नाममा स्वच्छन्द यौनाचारको अन्त्य हुन्छ । यहाँ पतिब्रताको अर्थ हो आफ्नो विवाहित लोग्नेसंगमात्र यौन–व्यबहार गर्नु । अग्रेजीमा ‘फैथफुल वाइफ’को अवधारणा छ । लोग्नेस्वास्नीका बीच स्थापित हुने सहमतिपूर्वकका यौनक्रियाकलापले पतिपत्नीका बीचमा विश्वास, आस्था तथा भावनात्मक प्रगढ़ता बढाउँछ । एउटा पतिले आफु जतिसुकै उदारविचारको भए पनि आफ्नी स्वास्नी अर्कोसंग कामक्रिडा गरेको स्वीकार गर्न सक्दैन । विवाहपूर्व यौन तथा प्रेमका कुराहरू आफ्ना पतिलाई शेयर गर्नु हुँदैन । साथै, विगतका गल्ती वा प्रेमहरूको उद्घाटन गर्न हुँदैन । विवाहित लोग्नेसंगमात्र यौन–व्यबहार गर्नेलाई पतिब्रता भनिन्छ । एउटा लोग्नेमा स्थिर रहने ‘स्वास्नी मान्छे’ पक्कै पनि असल स्वास्नी हुन् । घर, परिवार तथा लोग्नेको भावनाअनुसार आफुलाई ढाल्ने (ब्मवगकत) गर्न सक्ने स्वास्नीहरू असल हुन्छन भन्न मिल्छ ।
उदाहरणका लागि मोडर्न हौँ भन्ने विश्वासमा परेर वा केवल यौन सन्तुष्टीका लागि आफ्नो मायालु लोग्नेप्रति विश्वासघात गर्ने स्वास्नीलाई विश्वको कुनै पनि कुनामा राम्रो भनिन्न ।  तेसैले ‘सेक्स–बायोलोजिकल’ हो भन्दै होस् गुमाउँदा जीवनमा निकै दुखदिने घटनाहरू घट्न सक्छन् । दोष स्वास्नीको मात्र नहोला तर हाम्रो समाजले स्वास्नीको गल्तीलाई ठूलो बनाएर हेर्छ ।

५. सुश्रूषणपराः सधैं परिवार, लोग्ने, केटाकेटी, घरव्यबहार तथा दायित्वहरूप्रति सचेत रहनु र त्यसका लागि सधैं खट्छु, माया गर्छु, सेवा गर्छु, शारीरिक, मानसिक रूपमा सफा रहन्छु, जस्तो सुकै परिवेशमा पनि मीठो बोल्नेछु र सधैं पारिवारिकजन र आफ्नो लागि सुखमा सहयोग गर्ने छु –अग्निको परिक्रमा गर्दै गर्दा स्वास्नीले पाचौं प्रतिज्ञा यसरी गरेका हुन्छन् । हरेक व्यक्तिको रीस, राग, लोभ, मोहआदि हुन्छन् नै । तर पनि विवाहको निर्णय गरेर एउटा ‘सुन्दर घर’ परिवार जोडेका लोग्नेस्वास्नीले अन्य काम गर्दागर्दै पनि परिवारप्रतिको दायित्व विर्सनु हुँदैन । अधिकतम एडजस्टमेन्टको अभ्यास गर्नुपर्छ ।

उदाहरणका लागि लोग्ने वा लोग्नेका परिवारप्रतिको कुनै पनि दायित्वलाई ‘बोझ , स्वतन्त्रता, अधिकार तथा अहंकारको हनन’ ठान्ने स्वास्नीहरूले घरपरिवारप्रतिको दायित्व निर्वाह गर्न सक्दैनन् । दुर्भाग्यवस, धेरैजसो अधिकारकर्मीहरूको ‘परिवार’ आफ्नै महत्वाकांक्षाको बलिवेदीमा चढेको हुन्छ । सबै लोग्ने सहयोगी हुँदैनन् र सबै लोग्नेहरू खराव पनि हुँदैनन् । अधिकार र कर्तब्यका विचमा समन्वय गर्ने आफैले हो । आफ्नै वा अर्काको प्रभावमा परेर पारिवारिक दायित्वबाट विमुख हुँदा ‘सामाजिक प्रतिष्ठा’ प्राप्त गर्न सकिएला तर एकान्तमा लोग्ने, सासु, वुहारी, छोराछोरी वा आफन्तको माया, सहयोग तथा ममताबाट बन्चित भएकोमा पछुतो लाग्न सक्छ ।

६. मीतव्ययिताः जलिरहेको अग्निको परिक्रमा गर्दै स्वास्नीले लोग्ने समक्ष छैठौं बचन ‘मीतव्ययिता अर्थात् थोरै खर्च गर्ने छु’ भनेर दिन्छन् । यो प्रतिज्ञाको अर्थ हो लोग्नेले गृहमन्त्रीका रूपमा आफुले कमाएको सबै सम्पति स्वास्नीको हातमा लागेर दिन्छ । स्वास्नीले आफुले कमाएको होस् वा लोग्नेले कमाएको सम्पत्ति, बडो सावधानी, सुझबूझ तथा घरपरिवारको कल्याणको लागि खर्च गर्नुपर्छ । सम्पत्तिको रेखदेख गर्ने र त्यसको उपयोग गर्ने जिम्मा लोग्नेले स्वास्नीलाई दिएको हुन्छ । झन् रमाइलो कुरा त के भने आजभोली स्वास्नीको नाममा घरसम्पति जोड्ने चलन आएको छ तर त्यो सम्पतिमा स्वामित्व भने महिलाले प्राप्त गरेका हुँदैनन् । खटन लोग्नेको चल्छ । वैदिक विवाहले सम्पत्तिमा लोग्ने र स्वास्नीको समान अधिकार निर्धारण गरे पनि खर्च गर्ने तजविजी अधिकार महिलालाई दिन्छ । व्यक्तिगत वा पारिवारिक प्रयोजनका लागि खर्च गर्दा लोग्नेसँग छलफल गर्ने महिला पक्का पनि असल मानिन्छन् ।

आजभोली वैदेशिक रोजगारमा गएका लोग्नेहरू मध्ये अधिकांशले स्वास्नीको नाममा पैसो पठाउने गर्छन् । ९०% नेपाली पत्नीहरूले लोग्नेको विश्वासमा कुनै छलकपट गर्दैनन् । परिवार चलाउन सम्पतिको प्रयोग गर्छन् । १०% महिलाहरूले लोग्नेलाई धोका दिएका हुन्छन् । यतिमात्र नभएर आफ्ना स–साना बालबालिकालाई निर्ममतापूर्वक छोडेर अर्को मान्छेसंग पोइला जान्छन् । केवल आफ्नो शरीर र वासनापूर्तिको लागि सम्पतिमा एकाधिकार मान्ने स्वास्नीले घर गरी खाँदैनन् ।

७. सुसंस्कारको शिक्षकः वैदिक संस्कृतिले परिवारका सवालमा स्वास्नी मान्छेलाई पुरुषको भन्दा बढी विश्वास गरेको छ । बालबालिकाको पहिलो शिक्षिका ‘स्वास्नी’ मान्छे हुन् । आफ्नो परिवार, धर्म, संस्कृति, परम्परा तथा परिवेशअनुसार बालबालिकालाई असल शिक्षा दिने कार्य स्वास्नीको बढी हुन्छ । यहाँ सुसंस्कारको अर्थ हो – धृति, क्षमा, इन्द्रिय निग्रह, चोरी नगर्ने, मानसिक र शरीरक पवित्रता, दया, विचारशीलता, विवेक, पठनपाठनप्रति अभिरुचि, विनयशीलता, सत्य व्यबहार, अक्रोधको अभ्यास सदगुणहरू हुन् । हो, यी सबै सद्गुणहरू सिकाउने दायित्व सम्पूर्ण परिवारको हो तर आमा वा स्वास्नीका रूपमा यी गुणहरूको ‘रोलमोडेल’ बनेर व्यबहार गर्दा घर नै स्वर्ग हुन्छ । सातौँ परिक्रममा स्वास्नीले लोग्नेसंग सुसंस्कारको पालना गर्छु र शिक्षा दिन्छु भनेर प्रतिज्ञा गरेका हुन्छन् । यो प्रतिज्ञाअनुसार पारिवारिक दायित्व पालन गर्ने ‘स्वास्नी’हरू निश्चय नै असल हुन्, देवी हुन् ।

आजभोली समाजमा सुसंस्कारको निकै चर्को चर्चा हुन्छ । मानवशिक्षा, मूल्यशिक्षा आदि विभिन्न नामबाट बालबालिकालाई सु–संस्कार सिकाउने प्रयत्न भइरहेका छन् । घरमा रक्सीको ‘वार’ सजाएर, आमावुवालाई एक्लै वस्न बाध्य परेर, लोग्नेस्वास्नी झगडा गरेर, परचुके गरेर बालबालिकाले संस्कार प्राप्त गर्दैनन् । प्रकृतिले नै महिलालाई कोमलता र सहनशीलता उपहारमा दिएको छ । आफ्नो व्यक्तिगत जीवनमा प्राणको सङ्कट नपरेसम्म नेपाली महिलाहरूले ‘दायित्व’ छोड्दैनन् । अपवादहरूलाई उदाहरण बनाउन सकिन्न । आफूले सुसंस्कारको अभ्यास नगर्ने तर अर्कालाई (बालबालिकालाई) असल संस्कारी बनाउन खोज्नु पाखण्डीपन हो । आफूले जथाभावी रक्सी धोक्ने तर बालबालिकालाई रोक्नेहरूको पाखण्ड सबैले बुझ्नुपर्छ ।

प्रसिद्ध अमेरिकी पारिवारिक परामर्शदाता ‘गोटमेन दम्पति’ले लोग्ने र स्वास्नीको असल सम्बन्धका लागि जुन ७ बटा सूत्र बनाएका छन्, ती अमेरिकी समाजको धार्मिक, सामाजिक, सांस्कृतिक तथा मनोबैज्ञानिक अवस्था र व्यबस्थाको प्रतिनिधित्व गर्छ । लोग्नेस्वास्नीमा सहज संवाद, छलफल, एकअर्काप्रति सम्मान, घरपरिवारको दुवै मिलेर दायित्व वहन, दूवै मिलेर आर्थिक दायित्वको निर्वाह, मातापिता तथा परिवारप्रतिको समर्पण, असलगुणहरूको प्रशंसा, एकआपसमा सहज विश्वास र एउटाले अर्कालाई सुखदुखमा मित्रबत व्यबहार निकै महत्वपूर्ण हुन्छन् । नेपाली लोग्नेस्वास्नीहरूमा ‘डिभोर्स’को सोच हुँदैन । यदि स्वास्नीले पश्चिमाहरूले झैं ‘सार्वजनिक ठाउँमा चुम्वनलाई प्रेम ठान्ने र लोग्नेबाट तेस्तो अपेक्षा गर्नु’लाई नेपाली समाजले भल्गर भन्छ । कुनै पनि स्वास्नीले लोग्नेबाट सामाजिक, सांस्कृतिक तथा धार्मिक सदाचारका विरुद्ध ‘प्रेम’प्रदर्शनबाट जोगिनु उचित हुन्छ ।

उपरोक्त दायित्वका विषयमा थाहा पाउने स्वास्नीले आफ्नो लोग्नेलाई प्रेमपूर्ण तवरले ‘असल लोग्नेका दायित्व’वारे पनि बुझाउनु पर्छ । लोग्ने र स्वास्नी दूवै मिलेर मात्र असल घर बन्ने हो । एउटाले दायित्व पालन गरिरहने अर्कोले अधिकारमात्र खोजिरहने, कज्याउने वा वसमा राख्ने उद्योगमात्र गरिरहंदा परिवारको शान्ति भंग हुन्छ । हरेक स्वास्नीमा एउटा ‘असल स्वास्नी’ हुन्छे तर त्यो असल स्वास्नीलाई मलजल गरेर हुर्काउने र त्यसको सुन्दर फल जताततै रोप्ने काम परिवार, छरछिमेकी सबैको हो । एकपटक लोग्ने र स्वास्नी संगै वसेर यो लेख पढ्नुहोला । यो तपाईंका समस्या समाधान गर्न वा भविष्यका लागि असल जीवन निर्माण गर्न सहयोगी बन्न सक्छ । हामी सबैको भलो होस् । लोग्नेले स्वास्नीलाई स्वास्नीले लोग्नेलाई प्रेमपूर्वक पुलुक्क हेरौं सकारात्मक भावले मुस्सुक्क हाँसौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दार्चुला केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं । दार्चुला केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । भूकम्प मापन तथा अनुसन्धान

सहकारीसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय, सहकारी बोर्ड खारेज

काठमाडौं । सरकारले सहकारीसम्बन्धी अध्यादेश ल्याउने भएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले

गण्डकी प्रदेशसभाकी पूर्वसदस्य मीना गुरुङ पक्राउ

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गण्डकी प्रदेशसभाकी पूर्वसांसद मीना गुरुङ पक्राउ परेकी

आगामी माघ ४ गतेभित्र सहकारी समस्या समाधानका प्रगति विवरण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

  काठमाडौं । सर्वोच्च अदालतले सहकारीका समस्याहरू समाधान गर्न नेपाल सरकारका विभिन्न निकाय