काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै अस्थिरताको जड भएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीसँग गणतीय रुपमा मात्रै विश्वासको जोहो भएकाले राजनीतिक अस्थिरताको अन्त्य नभएको बताएका हुन् ।
उनले कांग्रेस र एमाले मिले भने माओवादीको हालत के होला भन्दै प्रश्न गरे । उनले भने,‘पोहोर एमाले विपक्षमा रहेको, अहिले कांग्रेस विपक्षमा रहेको, पक्षको मात्रै जोड्दै गर्दा पालैपालो विपक्षको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र हिसाब ? पालैपालो विपक्षमा उभिएकाहरु एकै पक्षमा उभिए भने नि, धोका खाएकाहरु एकै ठाउँमा हौं भने भने नि ?’
उनले कोसीमा माओवादी केन्द्रका राष्ट्रिय सभा उम्मेदवार पराजय हुँदा कांग्रेसले आफ्नै उम्मेदवार पराजय भएको महसुस गरेको भएपनि माओवादी गठबन्धन गरेको बेला हँसिया हथौडामा भोट हालेको विर्सिएको आरोप लगाएका छन् ।
महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले महासमिति बैठकमा प्रस्तुत प्रस्तावको विषयलाई मुख्य दोष लगाएको उल्लेख गर्दै नेपाली कांगेसले डकुमेन्ट समयअनुसार लेखेको बताए ।
उनले भने,‘कांग्रेसले आफ्नो डकुमेन्ट समय अनुसार लेख्छ । नेपाली जनता, नेपाली कांग्रेसलाई सोधेर लेख्छ । नेपाली कांग्रेसले आफ्नो डकुमेन्ट कम्युनिष्ट पार्टीलाई सोधेर लेख्दैन । त्यसैले यो डकुमेन्टको अवस्थामा चित्त बुझाउनुपर्ने अवस्था छैन ।’
हिन्दू धर्म, राजतन्त्र फिर्ता र यो व्यवस्थाविरुद्ध बोल्ने पार्टीसँग टाउको जोडेर हिँड्दा प्रतिगमन भएन भन्दै शर्माले प्रधानमन्त्री दाहाललाई प्रश्न गरे । उनले नेपाली कांग्रेसले सविंधान निर्माणको नेतृत्व र व्यवस्था लागू गरि १२ बुँदे सहमति गरेको उल्लेख गर्दै प्रधानमन्त्री नै अस्थिरताको जड रहेको बताए ।

प्रतिक्रिया