काठमाडौँ । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न आफ्ना रुसी समकक्षीसँग आग्रह गरेका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले रुसी महासङ्घका विदेशमन्त्री सर्गेइ लाभरोभसँग आज भएको टेलिफोन वार्तामा त्यस्तो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुराकानीका क्रममा रुसका विदेशमन्त्रीले परराष्ट्रमन्त्रीलाई परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेकोमा बधाई दिँदै शुभकामना व्यक्त गर्नुका साथै व्यापार, पर्यटन, संस्कृतिलगायत विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए ।
दुवै परराष्ट्रमन्त्रीले रुसी सेनामा रहेका नेपाली नागरिकको समस्यालगायत नेपाल–रुस सम्बन्धका विविध पक्षमा पनि छलफल गरेको मन्त्रालयले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले क्षतिपूर्तिको प्रक्रिया प्रारम्भ गरेकामा रुसी महासङ्घका विदेशमन्त्रीलाई धन्यवाद दिँदै त्यसलाई चाँडोभन्दा चाँडो टुङ्ग्याउन आग्रह गरेका थिए भने विदेशमन्त्री लाभरोभले नेपाली पक्षको चासो सम्बोधन गर्न आफू नेतृत्वको मन्त्रालयले सहयोग गर्ने आश्वासन दिएका थिए ।

प्रतिक्रिया