काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टीलाई सत्तामा जान खाजेर पनि सकेन भन्ने भ्रम नछर्न आग्रह गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले राप्रपा सरकारमा सहभागी हुन इच्छुक नरहेको बताए । राप्रपालाई सत्तामा नलिने भन्नेकुरा कतिपय पार्टीहरुले गर्वका साथ भनिरहेको कुरालाई आफ्नो पार्टीले नोटिसमा राखेको उनको भनाइ थियो । उनले केही दिनपछि नै राप्रपा चाहियो भन्ने दिन आउने अवस्था नबनाउन चेतावनी दिए ।
उनले भने, ‘कतिपयलाई भ्रम भयो, राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक थियो, भन्ने भ्रम लगाइयो मात्रै होइन, कतिपय साथीहरुले बढो उत्साहका साथ हामीले राप्रपालाई नलिने भनेका छौँ भन्नुभयो। त्यसलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले नोटिसमा राखेको छ। हामी यो सत्ता केन्द्रित चलखेलमा सामेल छैनौं। तपाईको यो गठबन्धनले पर्सी नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस्।’
उनले समग्र देशको अवस्था ठिक नरहेको बताउँदै देशको यो अवस्था हुनुमा अहिलेको व्यवस्था दोषी रहेको दाबी गरे।

प्रतिक्रिया