अब कुनै पनि हालतमा काममा ढिलाइ हुने छैनः उपप्रधानमन्त्री महासेठ


काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब कुनै पनि हालतमा काममा ढिलाइ नहुने बताएका छन् ।

सिंहदरबारस्थित कार्यालयमा बुधबार पदबहाली गर्दै उपप्रधानमन्त्री महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिए । मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ ।

“विकास निर्माणका सबै काम १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको छु । काममा किन ढिलाइ भयो, यसअघि भएका कमीकमजोरी र यो काम गर्न योजनासहित अब के गर्नुपर्छ भन्नेबारे कार्यदलले अध्ययन गर्नेछ”, उपप्रधानमन्त्री महासेठले भने, “अब काममा ढिलाइ हुने छैन ।”