धरान । बुधबार साँझ काठमाडौंको सुन्धारामा स्वरोजगार मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने महानगर प्रहरीका एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले माग गरेको छ ।
संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विज्ञप्ति जारी गर्दै एसपी लामिछानेलाई कारबाही गर्दै सम्पूर्ण मजदुरहरुसँग काठमाडौं महानगरपालिकाले माफी माग्नु पर्ने माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्नुपर्दछ । र काठमाण्डौं महानगरपालिकाले मजदुरहरुसँग माफी माग्नु पर्दछ ।’
त्यस्तै घाइते सम्पूर्ण श्रमिक तथा सञ्चारकर्मीको उपचारको व्यवस्था गर्नुपर्ने, महानगर प्रहरीहरुद्धारा जफत गरिएका सामानहरु सम्बन्धीत श्रमिकहरुलाई तत्काल फिर्ता गर्नुपर्ने माग संगठनले गरेको छ ।
त्यस्तै, महानगरभित्र ‘सस्तो नागरिक बजार’को व्यवस्था, सन्ध्याकालिन व्यवसाय गर्ने वातावरण, महानगरभीत्र ‘श्रम डेस्क’ स्थापना गरी सम्पूर्ण श्रमिकहरुको सूचिकरण गर्दै सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्ने माग संगठनले गरेको छ ।
संगठनले मेयर बालेन साह मेयर भएदेखिनै काठमाडौंमा गरिखाने वर्गमाथि आक्रमण हुन थालेको उल्लेख गर्दै बुधबार साँझको घटना अमानवीय र क्रुर भएको बताएको छ ।
महानगर प्रहरीका एसपी मनोज लामिछाने नेतृत्वको प्रहरीले बुधबार साँझ पौने ८ बजे सुन्धारामा स्वरोजगार मजदुरहरुलाई अन्धाधुन्ध आक्रमण गरि ६ जनालाई गम्भीर घाइते बनाएको भने मजदुरहरुका सामानहरु लुटपाट गरिको र मजदुरलाई प्रहरी नियन्त्रणमा लिएर आतंकित बनाइएको छ ।

प्रतिक्रिया