भरतपुर । सरकारले दूधको भुक्तानी नदिएको भन्दै चितवनका किसान सडकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । आइतबार भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर किसान आन्दोलनमा उत्रिएका छन् ।
उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं किसानहरुले दूध सडकमै पोखेर विरोध जनाएका हुन् । दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथितिको विरोधमा आफूहरू आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । आफूहरूको आन्दोलनलाई बेवास्ता गरिए अझ सशक्त रूपमा विरोध गरिने अध्यक्ष बगालले बताए ।
चितवनबाट दैनिक एक लाख ५१ हजार लिटर दूध बिक्री गरिँदै आएको थियो । दूध बिक्री नभएर फाल्नुपर्ने अवस्था भएपछि नचाहँदा नचाहँदै सडकमा पोख्न बाध्य भएको किसानले बताएका छन् । गत साउन महिनादेखि यहाँका किसानहरुले दूध बिक्री गरेको करिव ५२ करोड रकम भुक्तानी पाएका छैनन् । । संघमा चितवनका एक सय १५ भन्दा बढी सहकारी आबद्ध छन् ।

प्रतिक्रिया