रूपन्देही । सहीछाप कीर्ते मुद्दामा राजगुठी मटिहानीका मानमहन्थ जगरनाथ दास वैष्णवलाई अदालतले निर्दोष ठहर गरेको छ । बुधबार जिल्ला अदालत रूपन्देहीका न्यायाधीश डा. श्रीप्रसाद उप्रेतीले दासलाई सरकारी कागजात कीर्ते जालसाजीको मुद्दामा सफाइ दिएपछि उनी कारागार मुक्त भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको सहीछाप कीर्ते गरी रोक्का गरिएको बैंक खाता खुलाएको मुद्दामा दासमाथिको अभियोग दाबी नपुगेको अदालतले फैसलामा भनेको छ । प्रहरीले उनलाई २०७९ सालको पुस ३ गते मटिहानीबाट पक्राउ गरेको थियो । अभियोगपत्र दायर भएपछि अदालतले पुर्पक्षका लागि दासलाई गत वर्ष भैरहवा कारागार पठाएको थियो ।
त्यसपछि महन्थ दासले उच्च अदालत र सर्वोच्च अदालतमा थुनामुक्त गर्न अपील गरेका थिए । उच्च र सर्वोच्च अदालतले जिल्ला अदालतकै पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको थियो । रूपन्देहीका सहायक सीडीओ रामचन्द्र अर्यालको कीर्ते हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालयको छापसमेत प्रयोग गरी ७० लाखभन्दा बढी रुपैयाँ श्रवण यादवको मेगा बैंकको खातामा ट्रान्सफर गरेको उनीमाथि आरोप थियो ।
सहायक सीडीयोको सहीछाप कीर्ते गरी रोक्का गरिएको बैंक खाता खुलाएको मुद्दामा दासमाथिको अभियोग दाबी नपुगेको फैसला अदालतले गरेको हो । महन्थ दासले रूपन्देहीको आफ्नो नाउँमा रहेको जग्गा बिक्री गरी खातामा ७० लाख रुपैयाँ राखेका थिए ।
जग्गा बिक्रीसम्बन्धी उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले दासको खाता रोक्का गरेको अवस्थामा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीको नक्कली हस्ताक्षरका आधारमा खाता रोक्का फुकुवा गराई रकम निकालिएको उनीमाथि आरोप थियो ।

प्रतिक्रिया