घरमा आगलागी हुँदा मुगुमा दाजुबहिनीको मृत्यु


कर्णाली । मुगुको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति आगलागी हुँदा दाजुबहिनीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा उनका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो ।

आगलागी भएको र दुई बालबालिका फेला नपरेको सूचना पाइएपछि प्रहरी टोली घटनास्थलमा पुगेको र दुईवटा जलेका शरीर पफेला पारेको उनले बताए । डाक्टरलाई बोलाएर शवको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको जनाइएको छ ।

प्रहरीका अनुसार लालु सञ्ज्यालको घरमा उनकी पत्नी र दुई छोराछोरी बस्दै आएका थिए। लालु भने कामका लागि भारतमा छन् । लालुकी पत्नीले ताप्न बालेको आगो राति निभाउन भुल्दा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

आगलागीमा छोराछोरीको मृत्यु भएको तर आमा भने भागेर बाँच्न सफल भएको प्रहरीको अनुमान छ । आगलागीबाट घरमा धनसम्पत्ति, पशु चौपाय र खाद्यान्न पूर्ण रूपमा क्षति भएको तर यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ।