अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा, नेपालमा उल्लास


काठमाडौँ । भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएसँगै नेपालमा पनि भक्तजनहरूले उत्सव मनाएका छन् । सोमबार देशका प्रमुख सहरमा दीप प्रज्वलन गरिएको छ भने शोभा यात्रा निकालिएको छ ।

काठमाडौं उपत्यकामा पनि राम मन्दिर, हनुमान मन्दिरमा भक्तजनहरूले उत्सव मनाएका हुन् । त्यस्तै मधेस प्रदेशसहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ । अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेस प्रदेशको राजधानी भगवान् रामको ससुराली जनकपुरधामसहित मधेसका अधिकांश मठमन्दिर रङरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम र हनुमान अङ्कित झन्डा झुन्ड्याइएका छन् ।

साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिएको छ । राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती गरिएको छ । त्रेतायुगमै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको र सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाएकाबेला नेपाल पनि उल्लासमय बनेको छ ।