इपीएस परीक्षामा सहभागी नगराएको भन्दै मन्त्रीको गाडीमा आगजनी


काठमाडौँ । कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै एक समूहले मन्त्री सवार गाडीमा आगजनी गरेको छ । ललितपुरको बालकुमारी क्षेत्रमा युवाहरुको समूहले सरकारी गाडीमा आगजनी गरेको हो । उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका हुन् ।

ग्वार्को चोक र आकाशे पुलक्षेत्रमा आन्दोलित युवाहरूले पार्टी बैठकमा सहभागी हुन ज्वाला सवार बा२झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन् । कोरिया जान नपाएका ईपीएस पीडितले ग्वार्कोस्थित ईपीएसको शाखाकेन्द्रित आन्दोलन गररिरहेका छन् ।

जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले सडक अवरुद्ध गर्दै अन्य सवारीसाधनलाई रोकेका थिए। केही समययता इपिएसको विषयलाई लिएर संगठित समूह बनेर आन्दोलन भइरहेको छ ।