काभ्रे । प्लस टु तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि भविष्य कुन क्षेत्रलाई आफ्नो पेशा व्यवसाय बनाउने तथा तयारी आवश्यक छ भन्ने जानकारी प्रदान गर्न काभ्रे सेवा समाजको आयोजनामा इन्द्रेश्वर क्याम्पस पनौतीमा उत्प्रेरणा तथा जीवनवृत्ति सम्बन्धि सुझाव सल्लाहको कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा क्याम्पस प्रमुख श्रीप्रसाद सुवालले यस्ता कार्यक्रमले कलेजका विद्यार्थीहरुलाई आफ्नो रुची र योग्यता क्षमताको पहिचान गर्न सहयोग पुग्ने र कुन क्षेत्रमा जाँदा आफ्नो भविष्य उज्जवल हुने भन्ने निर्णय लिन सहयोग पुग्ने बताए । यसैगरी संविधानसभा सदस्य रामहरी सुवेदीले विदेशमा पुगेर कष्ट भोग्ने र धेरै पैसा आर्जन गर्ने सपना पाल्नुभन्दा नेपालमै रहेर नेपालकै लागि केहि गर्ने सोंच बनाउन आग्रह गरे ।
कार्यक्रममा विषय विज्ञका रुपमा डिफेन्स करियर एकेडेमी थापाथली काठमाडौंको तर्फबाट संस्थाका अध्यक्ष पूर्वप्रहरी वरिष्ठ उपरीक्षक गुप्तबहादुर श्रेष्ठले नेपाल सरकारको सुरक्षा निकायमा सेवा प्रवेश गरेर घर परिवार समाज र देशकालागि योगदान गर्न आग्रह गरे । साथै उनले लगन परिश्रम र धैर्यता रहेमा र आफ्नो क्षमता सीप र रुची अनुसारको सेवा वा व्यवसाय छनौट गर्न सकेमा सफल हुन सकिने बताउँदै सुरक्षा निकायमा प्रवेश गर्न योग्य र इच्छुक युवाहरुलाई पूर्व तयारी अध्ययनको अवसर दिलाउने जानकारी दिए ।
कार्यक्रममा निजामती सेवा विज्ञ प्रदीपराज कँडेलले लोकसेवा के हो र यसबाट आफ्नो भविष्य निर्धारणका लागि के के अवसर प्राप्त हुन्छ भन्ने बारेमा जानकारी गराएका थिए । यसै कार्यक्रमा डिफेन्स करियर एकेडेमीका तर्फबाट पूर्वमहासेनानी सूर्य अधिकारीले सेना के हो ? सेनामा सेवा गर्नाले आर्थिक सामाजिक र समृद्धिका पक्षमा आफू, आफ्नो परिवारलाई के सुविधा प्राप्त हुन्छ र राष्ट्रले के पाउँछ भन्ने बारेमा जानकारी दिंदै नेपाली सेनामा सेवा प्रवेशका लागि सल्लाह दिए । कार्यक्रममा डिफेन्स करियर एकेडेमीका तर्फबाट पूर्व प्रहरी नायव उपरीक्षक हिरा गिरीले सेवा प्रवेशका लागि आवश्यक न्यूनतम योग्यता र छनौट प्रकृयाका बारेमा जानकारी गराए ।
कार्यक्रममा काभ्रे सेवा समाजका तर्फबाट समाजका अध्यक्ष सशस्त्र प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक प्रल्हाद कुमार केसीले काभ्रेका नवयुवाहरुलाई नेपाल भित्र नै के कस्ता अवसर छन् र त्यसको प्राप्ती कसरी गर्न सकिन्छ भन्ने पर्याप्त जानकारी होस् र काभ्रेका युवाहरु राष्ट्र सेवामा लाग्न मद्दत मिलोस् भन्ने उद्देश्यका साथ काभ्रे जिल्ला भित्रका विभिन्न कलेजका विद्यार्थीहरुलाई सहभागी गराई यस किसिमको अभिप्रेरणा दिने कोशिस गरिएको बताए ।
कार्यक्रममा काभ्रे सेवा समाजका उपाध्यक्ष पूर्व प्रहरी नायव महानिरीक्षक पूर्णसिंह खड्का, सञ्चारकर्मी, क्याम्पसका अन्य प्राध्यापक तथा विद्यार्थीहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।


प्रतिक्रिया