जाजरकोट र रुकुम पश्चिममा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी



 

जाजरकोट ।  गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको हो ।

रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पु¥याए पनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ सुरु गर्न लागिएको छ । ती जिल्लाका केही स्थानीय तहका विद्यालयमा मङ्गलबारदेखि नै पठनपाठन सुरु हुने भएको छ भने केही स्थानीय तहका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार  जाजरकोटको नलगाड नगरपालिकामा पनि मङ्गलबारदेखि नै पठनपाठन सुरु हुने भएको छ । जाजरकोटको उक्त नगरपालिका भूकम्पबाट अधिक प्रभावित क्षेत्र हो । नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलवीर विकका अनुसार भूकम्पबाट ५४ विद्यालयमा क्षति पुगेको छ ।

जसमा १२८ कक्षाकोठा पूर्णरूपमा क्षति पुगेको छ । नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकले आंशिकरूपमा क्षति भएका विद्यालयमा भोलिदेखि नै पठनपाठन थालिने जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापकले समेत विद्यालय सञ्चालन हुने भएकाले सबै शिक्षक विद्यालयमा आउन आग्रह गर्दै सूचनासमेत प्रकाशित गरेका छन् । अस्थायी टेन्ट निर्माण भइसकेकाले निरन्तर पढाइ हुने भन्दै पञ्च भयार माविका प्रधानाध्यापक नरेन्द्र केसीले विद्यालयमा आउन आग्रह गरे ।

“क्षति नभएका विद्यालयमा भोलिदेखि नै पठनपाठन हुन्छ, पूर्णरूपमा क्षति भएको विद्यालयमा पनि अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने तयारी भइरहेको छ, केही दिन चाहिँ समय लाग्ला । बनिसकेपछि पढाइ हुन्छ”, उनले भने । सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञबहादुर खत्रीले भूकम्पबाट प्रभावित सबै विद्यालयमा पठनपाठन थाल्न पहल गरिरहेको बताए ।

उनले भने, “क्षति नभएका विद्यालयमा भोलिदेखि नै पढाइ हुन्छ, क्षति भएकोमा पनि अस्थायी टहरा बनाएर भए पनि पढाइ थाल्न भनेका छौँ ।” प्रदेश सरकारबाट सबै मिल्ने पहल र सहयोग हुने उनको भनाइ छ । अहिले जाजरकोटको छेडागाड, कुशेमा पाँचतारा युवा संरक्षण मञ्चले विद्यालयमा अस्थायी संरचना निर्माण गर्ने जिम्मेवारी लिएको छ भने नलगाड, भेरी र बारेकोटमा युनिसेफले अस्थायी संरचना निर्माणको जिम्मेवारी लिएको छ । जिम्मेवारी पाएसँगै निर्माणका कामसमेत सुरु गरिएको छ ।

रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले नगरपालिकाभित्रको भूकम्प प्रभावित विद्यालयमा भोलिदेखि नै पठनपाठन थाल्ने जानकारी दिए ।

उनले भने, “जहाँ आंशिक क्षति पुगेको छ, त्यहाँको सबै अवस्था बुझी पठनपाठन मङ्गलबारदेखि नै हुन्छ, पूर्णरूपमा क्षति पुगेको ठाउँमा भने हामीले अस्थायी सिकाइ केन्द्र बनाएर तयारी अवस्थामा राखेका छौँ । त्यसैले पठनपाठन रोकिँदैन ।” उनका अनुसार भूकम्पबाट नगरपालिकाभित्रका ६४ विद्यालयमा क्षति पुर्याएको थियो । जसमा ५२ विद्यालयमा पूर्णरुपमा क्षति पुगेको छ । पठनपाठन थाल्न एक सय ३९ अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ ।

“अझै पनि प्रदेश सरकार, विभिन्न सङ्घसंस्थाले सहयोग गर्दै आएका छन्, अझै थप अस्थायी सिकाइ केन्द्र बनाएर सहजरूपमै पठनपाठन थाल्नेछौँ, किताबको व्यवस्था पनि गर्दै छौँ”, उनले भने ।

त्रासमा विद्यार्थी

विद्यालय खोल्नका लागि पहल सुरु गरिए पनि विद्यार्थी भने त्रासमा रहेका छन् । भूकम्पबाट मनोबल कमजोर भएका विद्यार्थी घरदेखि विद्यालयसम्म भत्किएकाले विद्यालयमा गएर पढ्न मानसिकरुपमा तयार भएको पाइँदैन । भूकम्पको त्रासले गर्दा बालबालिका राति सुतेको समयमा कराउने, भूकम्प आयो भन्नेसम्मका गतिविधि देखाउन थालेको नलगाड नगरपालिका–१ कल्पतकी भावना विकले बताइन् । त्रिपालको बसाईका कारण बालबालिका बिरामी भइरहेको उनको भनाइ छ । केही विद्यार्थीको किताबसमेत घरभित्र पुरिएको अवस्थामा रहेको छ ।

“किताबविहीन अवस्था कसरी विद्यालय जानु ?” जुनी कम्युन माध्यमिक विद्यालय नलगाड–५ की भावना सिंहले भनिन् । सबै विद्यार्थी त्रिपालमा बसेर पढ्नका लागि चुनौती हुने देखिएको छ । भूकम्प प्रभावित विद्यालयमा मनोपरामर्श सेवा सञ्चालन गर्नुपर्ने देखिएको छ ।

भूकम्पको परकम्पन आउन नछाडेकाले पनि अर्को समस्या भएको हो । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले पनि सक्रिया शैक्षिक क्रियाकलाप सञ्चालन गर्न गाह्रो हुने देखिएको छ । कात्तिकदेखि चैतसम्म भारी मात्रामा हावाहुरी चल्ने मौसम भएकाले निर्माण गरिएका त्रिपाल कसरी सुरक्षित गर्ने भन्ने चुनौतीसमेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनवरीमा भारतबाट भित्रिए २० हजार पयर्टक, चीनबाट आठ हजार

काठमाडौं । सन् २०२५ को पहिलो महिना जनवरीमा करिव ८० हजार पर्यटक नेपाल

पुस मसान्तसम्म २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति

काठमाडौं । सरकारसँग २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति

सशस्त्र प्रहरीद्वारा विराटनगरमा एक व्यक्तिको साथबाट ३८ वटा मानव खप्पर बरामद

विराटनगर । विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित सशस्त्र प्रहरीले एकजनालाई

अछामका एमालेका पाँच नेता पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमालेले अछामका पाँच नेतालाई पार्टीबाट निष्कासन गरेको छ । एमाले