प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत


विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मतका लागि प्रदेश सभाको बैठकमा प्रस्ताव पेश गरेका छन् । बुधबारको प्रदेशसभा बैठकमा कार्कीले आफूलाई विश्वासको मत दिन आग्रह गर्दै प्रस्ताव पेश गरेका हुन् ।

उनले संविधान र संघीयताको पूर्ण कार्यान्वयनका साथै प्रदेशवासीलाई संघीयताको प्रत्याभूति गराउन सम्पूर्ण प्रदेश सभा सदस्यलाई विश्वासको मत दिन आग्रह गरे ।

उनले भने, ‘प्रदेश सभा जोगाउन र मध्यावधि निर्वाचनमा प्रदेशलाई जान नदिन माननीय प्रदेश सभा सदस्यज्यूहरूले मलाई विश्वासको मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु।’

मुख्यमन्त्री कार्कीले अहिलेको राजनीतिक परिस्थितिले आफूलाई जिम्मेवारी प्राप्त हुन आएको बताए। उनले भने,’यो जिम्मेवारी मात्रै नभएर प्रदेशको समग्र विकास र आर्थिक रुपान्तरणको दायित्व पनि हो । त्यसका लागि प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो अहिले पूरा भएको छ। अब हामी सबै मिलेर आम प्रदेशवासीसँग गरेर आएका वाचा पूरा गर्न सक्ने अवस्था निर्माण भएको छ।’

मुख्यमन्त्री कार्कीले भविष्यमा सरकारप्रति गरिने कुनै पनि आलोचना, मुख्यमन्त्रीप्रति गरिने कुनै पनि आलोचनामा पनि सरकारले रिसराग र द्वेष नराख्ने बताए।