इजरायलबाट तत्काल शव नआउने, निगमको जहाजले नेपाली विद्यार्थी लिएर आउने


काठमाडौं । नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउद इजरायल जाने भएका छन् । आज राति नेपाली विद्यार्थी लिन इजरायल जान लागेको जहाजमा मन्त्री साउद आफैं जाने भएका हुन् । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पठाउने निर्णय गरेको कानुनमन्त्री धनराज गुरूङले जानकारी दिए ।

यसैबीच, इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव नेपाल ल्याउन समय लाग्ने भएको छ । बुधबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी इजरायलमा ज्यान गुमाएका १० नेपालीको शव स्वदेश ल्याउन समय लाग्ने बताएको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार १० विद्यार्थीको शव मंगलबार राति इजरायल जाने नेपाल एयरलाइन्सको विमानले नेपाल ल्याउने छैन ।

इजरायल सरकारले हस्तान्तरण गर्नुपर्ने भएकाले शव नेपाल ल्याउन केही समय लाग्ने प्रवक्ता लम्सालले बताइन् । शव इजरायल सरकारले नेपाललाई हस्तान्तरण गर्नुपर्ने र त्यहाँको प्रोटोकल छुट्टै हुने भएकाले नेपाल एयरलाइन्सको विमानले शव नल्याउने उनले बताइन् ।

धेरै मानिसको मृत्यु भएको कारण शवको पोस्टमार्टम बाँकी रहेको इजरायल सरकारले जानकारी दिएको पनि प्रवक्ता लम्सालले जानकारी दिइन् । आज जाने जहाजले नेपाल फर्किन चाहने नेपालीलाई ल्याउनेछ ।

उनका अनुसार इजरायलमा रहेका नेपालीमध्ये २८८ जना स्वेश फर्किन इच्छुक रहेका छन् । उनले भनिन्, ‘२८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक हुनुहुन्छ । २५० जना बोक्ने जहाज आज जाँदैछ ।’