इजरायलमा मारिएकाको शव पहिचानको काम अन्तिम चरणमाः परराष्ट्र मन्त्रालय


काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलमा मारिएका नेपालीको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी नेपालीको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको जनाएको हो ।

शव पहिचान गरी तत्काल नेपाल ल्याउन एवं घाइतेहरूको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको मन्त्रालयले बताएको छ । इजरायलको गाजासँगको सीमा क्षेत्रमा भएको आक्रमणमा १० नेपाली नागरिकको मृत्यु भएको छ । एकजना सम्पर्कबिहीन छन् ।

इजरायल घटनाका सम्बन्धमा परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्ति

नेपाली राजदूतावास तेल अभिभ, इजरायलबाट प्राप्त पछिल्लो जानकारी अनुसार इजरायलको गाजासँगको सीमाना लगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरुले ज्यान गुमाएका, एक जना सम्पर्क विहिन रहेका र केही घाईते अवस्थामा रहेका पुष्टि भएको छ। मृतकहरुको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको छ।

मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाईतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भईसकेको छ।

इजरायलबाट स्वदेश फर्कन ईच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भईरहेको छ।

हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाई मार्ग मार्फत् आवत जावत सुचारू भइरहेको जानकारी समेत प्राप्त भएको छ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकको निर्देशन अनुसार माननीय परराष्ट्र मन्त्रीज्यूको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन भएको र उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकहरुको संरक्षण र उद्दार गर्न आवश्यक पहल गरिरहेको छ।यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको छ।द्वन्दग्रस्त क्षेत्रबाट नेपालीहरुको यथाशिघ्र उद्दार गर्न नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको छ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरणहरु उपलब्ध गराईएकोले उहांहरु मार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहनु हुन अनुरोध छ।

यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन परराष्ट्र मन्त्रालय सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछ।