काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानूनमन्त्री धनराज गुरुङले बुथ कब्जालाई सदर गर्ने व्यक्तिलाई न्यायाधीश बनाएको आरोप लगाएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष ओलीले बुथ कब्जा गरेर भएको निर्वाचन धाँधलीरहित भनेर सिफारिस गरेका निर्वाचन अधिकृतलाई न्यायाधीश बनाएको आरोप लगाएका हुन् ।
उनले भने, ‘बुथ कब्जा गराउने अधिकृतलाई न्यायाधीशमा नियुक्त गरेर पुरस्कृत गरियो । अब ती न्यायाधीशबाट न्याय सम्पादन कस्तो होला ?’
ओलीले सत्ता गठबन्धनले न्यायपालिकालाई आफ्नो विभागजस्तो बनाउन खोजेको आरोप लगाए । उनले एमालेले न्यायपालिकालाई गठबन्धनको विभाग बन्न नदिने बताए ।
उनले भने, ‘तपाईहरुले न्यायापालिकालाई स्वतन्त्र न्यायपालिका रहन नदिएर गठबन्धनको विभाग बनाउन खोज्या होला सम्भव छैन, हामी पनि छौं यो देशमा ।’
त्यस्तै उनले आफूविरुद्धको संसद विघटनको मुद्दामा बहस गर्ने वकिललाई पनि न्यायाधीश बनाएको भन्दै आपत्ति जनाए । अध्यक्ष ओलीले जनयुद्ध दिवसमा दिइने बिदा फिर्ता गर्न माग गरेका छन् । उनले भने, ‘जनयुद्ध दिवसमा बिदा स्वीकार्य छैन । फिर्ता गरिनुपर्छ । फिर्ता गर्नुभएन भने युद्ध त्याग्नु भएको छैन भन्ने स्पष्ट हुन्छ । हामी त्यसै छाड्दैनौं ।’

प्रतिक्रिया