‘बालेन यहाँ आउनुभएकै छैन, नगर प्रहरी लगाएर थर्काउनुभयो’


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चुनावी वाचा सम्झाउन एकसातादेखि राष्ट्रिय सभागृह अगाडि उभिरहेका अभियन्ता ईः प्रति आक्रोश व्यक्त गरेका छन् ।

सोमबार सामाजिक सजालमार्फत मेयर साहले वार्तामा बोलाउँदा नआएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । लोकतान्त्रिक अभ्यासमा सबै कुराको समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा आफूले बुझेको बताएका हुन् ।

उनले भनेका छन्, ‘विगत केहीदिनदेखि केही अभियन्ताहरु आन्दोलनमा हुनुहुन्थ्यो । उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं । यहाँहरुको कुरा र समस्या सुनौं भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ । सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं । के वार्ता हामीले उहाँहरुको नेतासँग गर्नपर्ने ?’

तर अभियन्ता ईः ले भने मेयर आफूहरुलाई भेट्न नआएको बताएका छन् । बरु मेयरले नगर प्रहरी पठाएर हप्काएको बताएका छन् । उनले लेखेका छन्, ‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन् । करिव २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए । हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं । नगर प्रहरीले रिसाएर जवाफ दिए– ‘त्यसोभए मेयरले भेट्दैन!’