गृहमन्त्रीको जवाफपछि पनि एमालेद्वारा संसद बैठक अवरुद्ध


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै संसद अवरोध कायमै राखेको छ ।

एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसदको अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

त्यसअघि प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको भन्दै राज्यकै निकायलाई विश्वास गर्नुपर्ने बताएका थिए । तर, गृहमन्त्री श्रेष्ठको सम्बोधन लगत्तै एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए ।