के हो ट्रान्स फ्याट ?
पछिल्लो समयमा मुटुरोग बारे व्यापक चर्चा र चाँसो हुने गरेको पाइन्छ, साथसाथै जनचेतनाको स्तर पनि बढेको पाइन्छ । यसको मुख्य कारण भनेको विश्वमा मुटुरोगबाट बढिरहेको मृत्युदर पनि हो । उच्च रक्तचाप, उच्चरक्त कालेस्ट्रोल, युरिक एसिड, मधुमेह, हृदयघात जस्ता रोगहरु आज घरघरको समस्या भइसकेका छन् । शरिरको मुख्य अंग मुटु जति जटिल छ त्यति नै मुटुरोगको उपचार सेवा पनि जटिल र महंगो छ । मुटुमा आउने अन्य समस्याहरु भन्दा Heart Attack ज्यानै सम्म लिन सक्ने खतरानाक समस्या हो ।
वर्षेनि Heart Attack कै कारण विश्वमा ज्यान गुमाउनेको संख्या लाखौँमा रहेको छ । Heart Attack अर्थात हृदयघात भन्ने बित्तिकै हामी झस्किन्छौँ । मुटुको कुनै पनि धमनीहरुमा शतप्रतिशत अवरोध भई मुटुको मांशपेशीकाले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो । यो हृदयघात यदि मुटुको देब्रेको मुख्य धमनीमा अवरोध भएमा प्राणघातक पनि हुन सक्छ भने साना साना धमनीहरुको अवरोध भएर भएको हृदयघात कहिले काहि मानिसहरुलाई थाहा नहुन पनि सक्छ । ठुलो धमनीको अवरोध भएमा छातीको बीचमा वा देब्रेतिर बेस्सरी दुख्ने, चिटचिट पसिना आउने, वाकवाक आउने र बेहोस हुने आदि हृदयघातका लक्षणहरु हुन् । हृदयघातको मुख्य कारण हाम्रो जिवनशैली नै हो । हाम्रो खानपिनका कारण हाम्रो शरिरमा कालेस्ट्रोल बढ्ने चिकित्सकहरुको भनाई छ । हाम्रो खानाबाट आउने ट्रान्स फ्याट पनि हृदयघातको प्रमुख कारण भएको प्रमाणित भइसकेको छ ।
हृदयघात भइ ज्यान समेत पनि लिन सक्ने तत्व ट्रान्स फ्याट के हो भन्ने विषयमा ट्रान्स फ्याट इलिमिनेसन पोलिसी एडभोकेसी प्रोजेक्टका प्रोजेक्ट डाइरेक्टर तथा कन्सल्ट्यान्ट कार्डियो भास्कुलर सर्जन, वरिष्ठ डा. प्रेम राज वैद्यसंग गरिएको कुराकानी:
ट्रान्स फ्याट के हो ?
ट्रान्स फ्याट धेरै नै चर्चामा आएको विषय हो तर सबैलाई ट्रान्स फ्याट बारेमा सहि जानकारी भने अझै पनि छैन । केहि समय पहिला फ्याट भन्ने बित्तिकै हामीले स्याचुरेटेड फ्याट र अनस्याचुरेटेड फ्याट भनेर बुझ्ने गरेका थियौं। तर यो ट्रान्स फ्याट चाँहि कुनमा पर्छ भनेर एक किसिमको अन्योलता थियो । त्यहि समयमा विश्व स्वास्थ्य संगठनले ट्रान्स फ्याटलाई तेस्रो वर्गमा सबैभन्दा खतरनाक फ्याटको रुुपमा वर्गीकरण गर्यो। वास्तवमा चाहिँ स्वास्थ्यको लागि राम्रो मानिएको यो अनस्याचुरेटेड फ्याटमा पोलीस्याचुरेटेड र मोनोस्याचुरेटेड फ्याट हुने गर्दछ । मोनोस्याचुरेटेड फ्याटमा पनि एउटा ट्रान्स फ्याट र सिस फ्याट हुन्छ जुन स्वास्थ्यको लागि निकै नै हानीकारक हुन्छ । हाम्रो स्वास्थ्यको लागि अनस्याचुरेटेड फ्याटले फाइदा हुने र त्यसमा पनि मोनोस्चुरेटेड फ्याट निकै फाइदा जनक मानिन्छ र त्यहि मोनोसचुरेटेड फ्याटभित्र पाइने फ्याट स्वास्थ्यका लागि निकै नै हानिकारक सावित भएको छ जसलाई ट्रान्स फ्याट अर्थात अति खराब चिल्लो पदार्थ भनिन्छ ।
ट्रान्स फ्याट कसरी बन्छ ?
ट्रान्स फ्याट दुई प्रकारका श्रोतले बन्छ, एउटा प्राकृतिक र अर्को कृत्रिम । रातो मासु र जनावरको दुधबाट प्राकृतिक रुपमा ट्रान्स फ्याट प्राप्त हुन्छ भने आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिएको वनस्पति घिउ वा तेल, बारम्बार प्रयोग गरिएका तेल आदि बाट ट्रान्स फ्याट प्राप्त हुन्छ । कृत्रिम स्रोतबाट प्राप्त हुने अर्थात फ्याक्ट्रीहरुमा उत्पादन गरिने औद्योगिक ट्रान्सफ्याट जसलाई पार्सियल्ली हाईड्रोेजेनेटेड ओइल भनिन्छ, यो स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । ट्रान्सफ्याट सामान्य तापक्रममा जम्छ । फ्याक्ट्रीमा सस्तो तेललाइ तताएर , हाइड्रोजन मिसाएर उत्पादन गरिने ट्रान्स फ्याट व्यापारका हिसाबले नाफामुलक हुन्छ । किनकी चिल्लो पदार्थको मात्रा बढ्छ, स्वादिलो हुन्छ र धेरै दिनसम्म टिक्छ । वनस्पति तेल सस्तो हुने भएकाले व्यापारका लागि खाद्य उद्योगहरुमा ट्रान्स फ्याटको प्रयोग गरिएको हुन्छ । यसरी हेर्दा प्याक भएर आउने सबै जसो खाद्य वस्तुमा ट्रान्स फ्याट पाइन्छ । ट्रान्स फ्याट हानिकारक भन्ने सावित भएपश्चात कतिपय देशशरुमा उद्योगहरुले ट्रान्स फ्याट फ्रि उल्लेख गरि खाद्य वस्तुको उत्पादन थालिसकेका छन् । साथै हाम्रो घरको भान्साबाट पनि ट्रान्स फ्याट बनीरहेको हुन्छ । हामीले एउटै तेललाई पटक पटक तताएर खाना बनाउदा पनि त्यसमा ट्रान्स फ्याट बन्छ र त्यसले स्वास्थ्यमा निकै हानी गर्दछ ।
ट्रान्स फ्याट हाम्रो शरिरमा आवश्यक पर्छ वा पर्दैन, यदि पर्छ भने कुन अनुपातमा आवश्यक पर्छ ?
ट्रान्स फ्याटबारे गरिएको विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानका अनुसार मान्छेलाई दैनिक आवश्यक चिल्लो पदार्थको एक प्रतिशत भन्दा बढि मात्रामा ट्रान्स फ्याट भएमा स्वास्थ्यका लागि हानिकारक हुन्छ । मानिसको शरिरमा दैनिक क्यालोरीको दश प्रतिशत स्याचुरेटेड फ्याट र एक प्रतिशत भन्दा कम ट्रान्स फ्याटबाट प्राप्त हुनुपर्छ । खानामा ट्रान्स फ्याट सुन्य भए सबैभन्दा उत्तम हुन्छ । एक प्रतिशत ट्रान्स फ्याट हामीले सजिलै नाप्न सक्छौँ । मानौँ एउटा व्यक्तिलाई दैनिक २०००क्यालोरी आवश्यक पर्छ र २००० एक प्रतिशत भनेको २० हो । २० क्यालोरी उर्जा करिब दुई ग्राम चिल्लो पदार्थबाट प्राप्त हुन्छ । दुइ ग्राम भनेको आधा चिया चम्चा भन्दा अलिकति कम हो । एक चिया चम्चामा ५ ग्राम हुन्छ । यसरी दैनिक २००० क्यालोरी बराबर खाना खाने व्यक्तिले आफ्नो खानामा आधा चिया चम्चा भन्दा कम ट्रान्स फ्याट प्रयोग गर्नु सामान्य मान्न सकिन्छ ।
ट्रान्स फ्याटले स्वास्थ्यमा कसरी र कस्तो असर गर्छ ?
पहिला पहिला धेरै घिउ खान हुन्न भन्ने गरिन्थ्यो । घिउ स्याचुरेटेड फ्याटमा पर्छ र यसले बेफाइदा गर्ने कोलेस्ट्रोलको वृद्धि गर्ने भएको खान हुन्न भनिन्थ्यो । अहिले ट्रान्स फ्याटको कारणले बेफाइदा गर्ने कोलेस्ट्रोलको मात्रा बढाउने मात्र नभएर शरिरमा फाइदा गर्ने कोलेस्ट्रोलको मात्रालाई समेत घटाउने भएकाले यो अझ हानिकारक र खतरानाक मानिएको हो । ट्रान्स फ्याटले खराब चिल्लो पदार्थलाई बढाउँछ र यसले रगतको थेग्रा जम्ने संभावनालाई पनि बढाउँछ । यो प्रक्रियाले शरिरका मसिना धमनीहरुमा अवरोध भइ मधुमेह, उच्च रक्तचाप र मुटुको धमनीहरुमा पनि अवरोध भइ हृदयघात सम्म हुने गर्दछ । हाल आएर महिलाहरुमा देखिएका विभिन्न क्यान्सरहरु पनि ट्रान्स फ्याटकै कारण भएको प्रमाणित भइसकेको छ ।
ट्रान्स फ्याटबाट कसरी बच्न सकिन्छ ?
वनस्पति तेललाई जति धेरै पल्ट ततायो त्यति नै त्यसमा ट्रान्स फ्याटको मात्रा बढ्दै जान्छ । जति धेरै पल्ट तेल ततायो तेल त्यति नै बढी हानिकारक बन्दै जान्छ । त्यसैले वनस्पति घिउ र धेरै पल्ट तताइएको तेलको प्रयोग नगर्ने हो भने ट्रान्स फ्याटबाट हुन सक्ने खतराबाट बच्न सकिन्छ । साथसाथै डिप फ्राइ गरिएका खानेकुरा, फ्याक्ट्रीमा बनेका ट्रान्स फ्याट युक्त प्याकिगं गरिएका खानेकुरा, फ पास्ट फुड, विभिन्न मिठाइ, बेकरी आइटम, जस्ता खानेकुराहरु नखानाले ट्रान्स फ्याट बाट बच्न सकिन्छ । तेलहरुमध्ये ओलिभ ओइल, तोरी र नरिवल तेलको प्रयोग गरेको खण्डमा पनि ट्रान्स फ्याटबाट बच्न सकिन्छ ।