हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइयो


काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ। मंगलबार साँझ सबैको शव काठमाडौं ल्याइएको हो । शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । मंगलबार बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

हेलिकप्टर लिखुपिके गाउँपालिका–५को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनाग्रस्त हेलिकोप्टरमा एक नेपाली पाइलट र पाँच मेक्सिकन यात्रु थिए। उनीहरु सबैको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाइलट चेतबहादुर गुरुङ छन्। त्यस्तै मेक्सिन यात्रुहरुमा सीफुन्टस जी फरान्डो, गोन्जालेज अर्बिक, गोन्जालेज ओलासियो लुज, सिफुन्टस जी मारिया जोस र रिनकोन स्माइल छन् ।