काठमाडौं । संविधानविद डा. भीमार्जुन आचार्यले अदालतको आदेश नमान्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पक्ष लिएका छन् । सामाजिक संजालमार्फत संविधानविद आचार्यले अदालतका धेरै कामकारवाहीहरू आलोच्य रहेको बताएका छन् ।
आचार्यले भनेका छन्, ‘कानूनी राज्यमा अदालतको आदेश मान्दैन भन्ने अधिकार कसैलाई हुँदैन । चित्त नबुझे पनि पालना गर्नुपर्ने बाध्यता रहन्छ । तर अदालतले पनि कानून, संविधान र स्वयं अदालत देशका लागि बनेका हुन् । देश अदालत, कानून र संविधानका लागि होइन भन्ने हेक्का राख्नुपर्छ । अदालतका धेरै कामकारवाहीहरू आलोच्य छन् ।’
कानूनी राज्यमा अदालतको आदेश मान्दैन भन्ने अधिकार कसैलाई हुदैंन।चित्त नबुझे पनि पालना गर्नु पर्ने वाध्यता रहन्छ।तर,अदालतले पनि कानून, संविधान र स्वयं अदालत देशका लागि बनेका हुन।देश अदालत, कानून र संविधानका लागि होइन भन्ने हेक्का राख्नु पर्छ।अदालतका धेरै कामकारवाहीहरू आलोच्य छन।
— Bhimarjun Acharya (@BhimarjunPhD) June 23, 2023
मेयर साहले हिन्दी चलचित्र प्रदर्शनमा रोक नलगाउन उच्च अदालत पाटनले दिएको आदेश पालना नगर्ने बताएका थिए । उनले भनेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो । अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

प्रतिक्रिया