रविन्द्रको कलात्मक ‘डुङ्गा चियाघर’



नारायण ढुंगाना, काठमाडौँ । अग्ला रुखले घामको तातो राप रोक्दै शीतलता दिने कोशिस गरिरहेको छ । वरिपरि झुरुप्प झाडी र बुट्यानले घरभन्दा पर नयाँ बसाइको अनुभूति थपिदिएको छ ।

फाट्टफुट्ट झुल्कने किटपतङ्गले घरआँगनको झल्को दिन्छ । झाडीकै बीचमा एउटा पुरानो डुङ्गा टक्क अडिएको छ । डुङ्गाको अस्तित्व पानी र त्यसको बहाबसँग जोडिएको हुन्छ । तर त्यहाँ जमिनसँग नाता जोड्ने प्रयत्नमा डुङ्गा लागेको छ । अनुभूति मात्रै पानीको बहाबसँग जोडिन्छ ।

नारायणी, राप्ती, कोशीजस्ता ठूला नदीमा बग्दाको स्मरण अनि काठमाडौँकै ठूला पोखरीमा तैरिँदाको स्मृति त्यो डुङ्गासँग छ । अहिले डुङ्गा जमिनमाथि नै आफ्ना यात्रु खोज्दैछ । फरक यति हो उसले यात्रुलाई नदीको वारिपारि किनार तार्नु पर्दैन ।

यात्रु डुङ्गामा यात्रा गर्छन् । डुङ्गामा एक युवा गितारमा पुराना धुन बजाउनुहुन्छ । ए माझी दाइ…पुरानो डुङ्गा…आदि । दर्शक आफैँ पनि सहभागी  हुन सक्छन् । अनि यहाँ नयाँ युगका धुन पनि बज्छन् बेलाबेलामा । यात्रुअनुसारको धुनको स्वाद पस्कन उनी खप्पिस छन् । यसरी बज्ने गितारको मधुर धुनमा रमाउँछन् सङ्गीतका पारखीहरु । यहाँ पुग्ने धेरैले वर्षाैँअघिको कर्णदासको गीत, ‘पुरानो डुङ्गा पानीको छाल पार गरुँ कसरी, उनी छिन पारी तारेर लौन भेटुँन कसरी…’ गीत सम्झन्छन् ।

डुङ्गामै रहेको पुस्तकालयको कालजयी पुस्तकमा अक्षरहरुको स्वाद लिन्छन् । सत्यमोहन जोशीको जीवनी, प्रयोगशाला, कलासम्बन्धी पुस्तक, उपन्यास र अनुसन्धानमुलक पुस्तकहरु राखिएका छन् । अनि जमिनमाथिको यात्राको नयाँ अनुभूति सङ्गाल्न पाउँछन् आगन्तुकहरु । त्यो अनुभूतिले जमिनमा रहे पनि बहँदै गरेको पानीको छालमाथिको यात्रामा भावनाहरु छचल्किन पुग्छ । त्यही नदीको यात्रामा डुब्न पुगिन्छ ।

यात्रुको यात्रामा साथ दिन डुङ्गाका माझी बनेको बताउँछन् ललितकलाका कलाकार रविन्द्रकुमार श्रेष्ठ । उनी यात्रुको साथै रहनुहुन्छ । उहाँ डुङ्गाको बहना बनेर यात्रुको मानसपटलमासँगै डुल्छन् । उनको यो ‘डुङ्गा चियाघर’मा चियाको चुस्किसँगै सङ्गीत र साहित्यको स्वाद लिन पाइन्छ ।

डुङ्गाको अर्को छेउमा पुरानो डिक्चेमा चिया पाक्छ । चिया पकाउने तरिका पनि परम्परागत छ । चिया पसलेले चियासँगै दुनोटको एक थान साथै ल्याइदिन्छन् । दुनोटले पुरानो काठमाडौँलाई झक्झक्याइदिन्छ । पुरानो काठमाडौँमा दुनोट चर्चित थियो । “यी चिया लिनुस्”, उनी डुङ्गाभित्र रहेको सानो टेबलमा थपक्क राख्छन् अनि मुसुक्क मुस्काउँदै श्रेष्ठ भन्छन्, “पानी नहालेको खाँटी दूध हो हजुर, चिनी नपुगे भन्नुस् है ।”

अनि अर्को खेप ओसार्न पुग्छन् । धुलिखेलबाट ल्याएको गाईको खाँटी दूधमा धुवाँको हरक मिसिएको चियाको स्वादले धेरै यात्रुलाई आफ्नो पहाड घर सम्झाउँछ । कतिलाई तराईको आँगनको ओदानको स्मरण गराउँछ ।

नयाँ पाहुना थपिएपछि भने डुङ्गामा ठाउँ पुग्दैन । धेरैजना डुङ्गाकै परिपरि बसेर निहार्छन् र पालो कुर्छन् । आगन्तुकहरु त्यतिञ्जेल छेउमा रहेका काठका कुर्सीमा बस्छन्, पुस्तक पल्टाउँछन् र गीत सुन्छन् । बरिष्ठ साहित्यकार अभि सुवेदीले उनको कलाको स्वाद लिएर गए । रुचिसाथ अवलोकन गरे । त्यही डुङ्गाभित्र बसेर उहाँले केही अन्तरवार्ता पनि दिएको कलाकार श्रेष्ठ स्मरण गर्छन् ।

चलचित्रका कलाकार रविन्द्रसिंह बानियाँ परिवारसहित आएर पनि मज्जा लिएर गए । शिल्पी थिएटरका घिमिरे युवराज मात्रै होइन, स्कुलका विद्यार्थीहरुको नजरमा परेको छ डुङ्गा चियाघर । कविले कविता प्रस्तुत गर्ने ठाउँ बनेको छ भने साहित्यकारले किताव पढ्ने ठाउँ । चिया पारखीले चिया खाने ठाउँ बनेको छ त थकितहरुका लागि थकान बिसाउने ठाउँ बनेको छ उनको सिर्जना ।

यो डुङ्गा १५ वर्षअघि ललितपुरको नाग दहमा चल्थ्यो । प्वाल परेकाले त्यसले आराम पायो । उनले नल्याएको भए त्यो आगोमा बलिसक्थ्यो होला । तर श्रेष्ठले पुनः प्रयोगमा ल्याएर नयाँ सन्देश दिए । उनले कलालाई व्यवसायसँग जोड्ने योजना बनाएका छन् ।

कोलाहलयुक्त काठमाडौँ सहरको एउटा कुनाको एकान्तमा डुङ्गा यात्राको जोहो उनै कलाकार रविन्द्रको नयाँ सिर्जना हो । राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कला प्रदर्शनीको एउटा सानो तर महत्वपूर्ण अंशका रुपमा उनले पुरानो डुङ्गाको भर्सनलाई प्रतिस्थापन आर्टमा रुपान्तरण गरेर नमूना प्रस्तुत गरेका छन् ।

“खै किन हो डुङ्गा मलाई एकदम मन पर्छ । काठमाडौँमा पुराना डुङ्गा खोज्दै गर्दा एउटा भेट्टाएँ पनि”, उनले अनुभव सुनाए । सत्र हजार रुपियाँमा किनेको डुङ्गा उनले पानीमा चलाएनन् । जमिनमा उभ्याइदिनुभयो । काठमाडौँ उपत्यका खाल्डोमा ठूला नदी र पोखरी लोप हुँदै जाँदा यस्ता काठका डुङ्गा विस्थापित भए । खुम्चिएका साना पोखरीमा रबरका डुङ्गा चल्न थालेपछि काठका धेरै डुङ्गा बेवारिसे बने । धेरैले दाउरा बनेर अस्तित्व गुमाए । तर श्रेष्ठले भेट्टाएको एउटा डुङ्गाको अस्तित्व बिउँझाए । ‘पुराना वस्तु नयाँ वस्तुका आधार हुन्”,  उनी  भन्छन्, “मासिनु हुन्न, केही न केही गरेर यसलाई बचाउनुपर्छ भन्ने सोचले यहाँ ल्याएँ ।”

डुङ्गा यहाँ परफरमेन्स आर्टको एउटा सहभागी हो । तर यो सहभागितालाई उनले यथार्थवादी कलासँग जोड्दै मानिसको दैनन्दिनीसँग मिसाउँदै छन् । कलालाई अर्थसँग जोडेर उनले पस्किएका छन् । कला पर्यटन प्रवद्र्धन र आर्थिक विकासको सूचक हो भन्ने उदाहरण उनले यहाँ प्रस्तुत गरेका छन् । कला देखाएर चिया बेचेर उनले कमाइ पनि गरिरहेका छन् । । पैसामै चिया बिक्री पनि भइरहेको छ । उनका अनुसार सहरका विभिन्न भागमा कलात्मक प्रस्तुतिसँगै डुङ्गा रेष्टुरेन्ट खोल्ने तयारी गरिएको छ । यो उनको रिहर्सलभन्दा पनि फरक पर्दैन । त्यसका लागि पोखरा, चितवनलगायतका स्थानबाट पुराना डुङ्गा खोजेर जम्मा गर्दै छन् ।

उनले यो नयाँ अवधारणालाई पहिलो चरणमा साहित्य, कला अनुरागीमाझ पस्कने जमर्को गरेका छन् । कलार साहित्य पारखीका पुस्तक विमोचन, कला उद्घाटन र विमर्शका लागि नयाँ स्थान यही पुराना डुङ्गालाई बनाउने लक्ष्य लिएको उनले सुनाए ।

मानिस जति आधुनिक भए पनि उसको रगतभित्र लुकेको पुरानो पुस्ताको वंशाणुपन कहिल्यै जाँदैन । यही मूल मर्मलाई उहाँले डुङ्गाबाट जगाउँदै हुनुहुन्छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकूलपति लालकाजी लामालाई पनि उहाँको यो अवधारणा मन परेको छ । लामा भन्छन्, “हामी कलाकार सधैँ नयाँ कुराको खोजीमा हुन्छाँै, डुङ्गाले त्यो नयाँपन दिन खोजेको छ । हुन त डुङ्गा पुरानो हो । तर यसले दिने अनुभूति पुराना र नयाँ दुवै पुस्ताका लागि नयाँ र मौलिक हुन्छन् ।”

एउटा डुङ्गामा एकपल्टमा चार जनासम्म अटाउन सक्छन् । चारजना बसे पनि उनीहरुको एउटै ध्याउन्न हुन्न । कोही गीत मात्र सुन्छन् । कोही चियामा मग्न रहन्छन् । कोही पुस्तक बढी पढ्छन् । कोही डुङ्गाका हरेक कुना आउने गरी सेल्फी र भिडियो खिच्छन् । र मोबाइलमा नयाँ स्मरण कैद गर्छन् ।

श्रेष्ठले डुङ्गामा शताब्दी पुरुष सत्यमोहन जोशीको हस्ताक्षर भएको उनको जीवनीसँगै उनकै औँठा छाप भएको कलात्मक स्वरुप पनि डुङ्गामा राखेका छन् । यसले शताब्दी पुरुषको जीवित अस्तित्वलाई उजागर गर्छ ।

प्रतिष्ठान परिसरमा जारी कला प्रदशर्नीमा घुम्दै अवलोकन गरेपछि सुस्ताउने थलो पनि बनेको छ उनको ‘डुङ्गा कला’ । कलाका अनेक हेरेपछि देखिने डुङ्गाभित्रको अनुभूति हेर्ने र महसुस गर्नेहरुका लागि ताजा रहने गर्छ । त्यसैले त दोहोर्याएर साथीभाइ र परिवारका सदस्यसहित डुङ्गाको एकान्तपनसँगै जमिनमाथिको यात्रा गर्न आउने गरेका छन् ।

यहाँ पुगेका एक आगन्तुक अनिल शर्मा भन्छन्, “यो साँच्चै नमूना प्रदर्शनी हो, यसले समाजलाई जीवन्त प्रस्तुत गरेको मात्रै छैन, चिया बेचेर आयआर्जनको बाटो पनि देखाएको छ ।” उहाँको यो कला हेर्न कला पारखीले छुटाउँदैनन् । कलाकार श्रेष्ठ भन्छन्, “यो पब्लिक आर्ट हो, यो हाम्रोमा एकदम ट्रेन्ड काम छ, यसलाई प्रतिष्थापन कला (इन्स्टलेसन आर्ट) भनिन्छ । मोबाइल कला हो । ठाउँअनुसारको कला भरेर प्रस्तुत गर्न सकिन्छ ।” कलालाई अर्थसँग जोड्नुपर्छ । भाषा, साहित्य, कला र अर्थसँग जोडिएको छ उनको सिर्जना ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष यसैगरी कला प्रदर्शनी गर्छ । तर गणतन्त्र दिवसका अवसरमा भने पहिलोपटक जेठ १५ बाट प्रदर्शनी थालिएको हो । यसपटक लोक तथा परम्परा कला नेपाल कला परिषदमा प्रदर्शनमा छ । अन्य समसामयिकसहित मूर्तिकलालगायतका कलाहरु नक्सालमा प्रदर्शन भइरहेको छ । यसपालि विशिष्ट व्यक्तिहरुको अवलोकनमा चाख बढेको छ ।

विगत १२ वर्षकै इतिहासमा पहिलोपटक सबैभन्न्दा बढी झण्डै ७०० कला राखिएको प्रदर्शनीमा विशिष्ट व्यक्तिहरुको अभिरुची पनि बढी नै देखिएको छ । पूर्व राष्ट्रपति विद्यादेखि भण्डारीदेखि विभिन्न देशका राजदूत, अग्रज कलाकार, राजनीतिज्ञ तथा सामाजिक व्यक्तिहरुबाट कलाको अवलोकनले यसको महत्व बढाइदिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली यसपटक कलामा नयाँपन दिन खोजिएको र कलाको विकास र प्रवद्र्धनमा ध्यान दिइएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेस प्रदेशको बजेट ४३ अर्ब ८९ करोड २१ लाख

  धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल

दिक्तेलमा साकेला उँभौलीको मैझारो

खोटाङ । सारङ्गी र्‍याइँ–र्‍याइँ रेटौँला ! अर्को साल फेरि भेटौँला !! भेटौँला लै–लै

लुम्बिनी प्रदेश सरकारले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।