बा–आमाले छोरो जेलबाट नछुट्दै कसरी जानू !
भूटानका जेलमा रहेका सन्तानको खबर समेत नपाएका शरणार्थीमध्ये अधिकांश उनीहरूको सम्झना मात्र बोकेर तेस्रो मुलुक पुगेका छन्। आईसीआरसीलाई समेत कारागारमा जान नदिएपछि गुमनाम ती बन्दीको सूची यसै साता अमेरिकाको न्यूयोर्कबाट सार्वजनिक हुने भएको छ।
देवेन्द्र भट्टराई | खाेज पत्रकारिता केन्द्र
झापाको बेलडाँगी शिविरमा शरणार्थी जीवन विताइरहेकी ६२ वर्षीया डम्बरकुमारी अधिकारीको मनमा दुई मिति गडेका छन्– १९९२ अप्रिल १२ र २०७४ भदौ १६। अघिल्लो मिति उनी जन्मभूमि भूटानको दागानाबाट लखेटिनु परेको दिन र दोस्रो, आफ्ना एक मात्र छोरालाई भूटानको चेम्गाङ जेलमा भेटेको दिन।
तीस वर्षअघि भूटानबाट लखेटिनु परेको र त्यसपछि छोराहरूलाई राजबन्दी बनाएर भूटानमै थुनिएको विषय अब उनका लागि पुरानो भइसकेको छ। त्योभन्दा बढी पीर आमा–छोराको यही जुनीमा भेट नहोला कि भन्ने छ। उनका छोरा ओमनाथ (३९) चौध वर्र्ष (२६ फेब्रुअरी २००८) देखि भूटानको चेम्गाङ जेलमा थुनिएका छन्।
“छोरालाई कुनै अपराधविनै जेलमा राखेर हामीलाई भेट्न नदिएको पीडा खपिनसक्नु छ” बेलडाँगी शिविरको बाङ्गे चौतारो नजिकै झुप्रोमा भेटिएकी डम्बरकुमारीले सुनाइन्, “चार सालअघि भदौ १६ गते त्यसलाई चेम्गाङमा भेटेकी थिएँ। त्यसपछि मर्यो, बाँच्यो थाहा छैन।”तीन महिनाअघि मात्रै भूटानमा रहेका एक चिनारुबाट छोरा ओमनाथलाई थिम्पूको सरकारी अस्पतालमा लगिएको खबर डम्बरकुमारीले सुनिन्। कोरोनाले थलिएको हो वा अरू केही रोगबिराम परेर होे ? छोराको खबर थाहा पाउन आमाले विराटनगरदेखि काठमाडौंसम्म अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) को कार्यालय पुगेर गुहार लगाइन्। तर, केही खुटखबर पाइनन्।
पहिले आईसीआरसीलाई वर्र्षको एक वा दुई पटक भूटानका जेल भ्रमणमा जान दिने भूटानको नियम पनि चार वर्र्षयता कठोर बनेको छ, कोभिड–१९ को संक्रमण र अरू सुरक्षा कारणले। “हामीलाई दिल्ली मुख्यालयले अनुमति पठाएको छैन, भूटानले जेल भ्रमणमा रोक लगाएको खबर मात्रै छ”, आईसीआरसी काठमाडौं कार्यालयका एक अधिकारी भन्छन्।
“अहिले त भूटानमा आउजाउ गर्नै मुश्किल छ”, झापा, चारआली बस्ने भूटानी अधिकारकर्मी प्राध्यापक डा.डीएनएस ढकाल भन्छन्, “भूटान–भारत खुला सीमा भनिए पनि भारतीयका लागि समेत ‘स्टाम्पिङ’ जरूरी भइसकेको छ। आउन–जान १० रुपैयाँ शुल्क तथा रात बस्न १२५० रुपैयाँ बुझाउनुपर्ने नियम यथावत् छ। योभन्दा पनि रासन कार्ड वा आधार कार्डलाई मान्यता नदिएर मतदाता परिचयपत्र अनिवार्य खोज्न थालिएको छ।”
सन्तान जेलमा, बाबुआमा विदेशमा
अमेरिकाको पेन्सलभेनिया, हेरिसबर्गमा बस्छन्— ६५ वर्षीय सुकबहादुर र ५५ वर्षीया आइतीमाया तामाङ दम्पती। आफ्ना जेठा छोरा चतुरमान भूटानको चेम्गाङ जेलमा परेको खबर पाउँदा यी बुबाआमा झापाको बेलडाँगी शिविरमै थिए। “सन् २०१४ मा बुवा र बहिनी एकपटक चेम्गाङ जेल पुगेर दाजुलाई भेट्नुभएको थियो” चतुरमानका भाइ पासाङ दोर्जे तामाङले फोनमा भने, “त्यसपछि हामी अमेरिका आइहाल्यौं, ८ वर्र्ष हुन लाग्यो उहाँको खुटखबर छैन।”
छोरालाई कुनै अपराधविनै जेलमा राखेर हामीलाई भेट्न नदिएको पीडा खपिनसक्नु छ, चार सालअघि भदौ १६ गते त्यसलाई चेम्गाङमा भेटेकी थिएँ। त्यसपछि मर्यो, बाँच्यो थाहा छैन।
- डम्बरकुमारी अधिकारी
अविवाहित चतुरमान अहिले ३९ वर्र्षका भए, आईसीआरसीको दर्ता (०००४५४) मा रहेका यी राजबन्दीको सजायलाई ‘आजीवन’ भनिएको छ। तर, त्यो कति वर्र्ष हो भनेर भूटानी प्रशासनको हकमा कसैले भन्न नसक्ने पासाङ दोर्जे बताउँछन्।
अहिले क्यानडाको ओन्टेरियोमा बस्ने भगीरथ गौतम (८६) र रनमाया गौतम (७६) ले पनि आफ्नो कान्छो छोरो कुमार भूटानको चेम्गाङ जेलमा परेको खबर शरणार्थी शिविरमै रहँदा पत्तो पाएका थिए। सन् २०१२ मा उनीहरू चेम्गाङ पुगेर कुमारलाई भेटे। “त्यसपछि तेस्रो देशमा पुनर्वास हुन हामी परिवारका ७ जना क्यानडा आइपुग्यौं, भाइ भूटानको जेलमै थन्कियो”, क्यानडामै रहेका उनका दाजु लक्ष्मी गौतमले फोनमा भने।
सिलिगुढी घुम्न गएको भाइलाई ‘देशद्रोही, आतंककारी र राजनीतिक उपद्रवकारी’ को आरोप लगाउँदै एकाएक भूटान लगेर आजीवन कारावासमा हालिएको खबर आफूहरूले ढिलो गरी पाएको लक्ष्मीले सुनाए। “त्यसले के उपद्रव गर्यो, हामीले कहिल्यै थाहा पाएनौं”, दाजु लक्ष्मी भन्छन्। काखको छोरो राजबन्दीका नाममा आजीवन कारावासमा परेपछि बूढा भएका बुवा–आमाको रुवाइ थामिएकै थिएन, एकाएक अर्कै दुनियाँमा आइपुगे।
“बा–आमा र परिवारकै तर्फबाट मैले आईसीआरसी, एम्नेष्टी सबैलाई पत्र लेखेको छु” लक्ष्मी भन्छन्, “क्यानडाका प्रधानमन्त्री र विदेशमन्त्रीलाई पनि पत्र लेखेर भूटानको गैरन्यायिक थुना र मानवअधिकार हनन्बारे बोलिदिन भनेको हुँ, तर जवाफ आएन।”
अर्का ६७ वर्षीय प्रेमबहादुर राई अहिले अष्ट्रेलियाको ताजमेनियामा बसोबास गर्छन्। उनका माइला छोरा हस्तबहादुर राई भूटानको चेम्गाङमा जेल परेको १४ वर्र्ष बितिसकेको छ, राजबन्दीको आईसीआरसी (००४५६) पहिचानमा।
सन् १९९० को दशकको शुरुआतमै भूटानबाट लखेटिएको राई परिवार पनि दमक, बेलडाँगी शिविरमा शरणागत थिए। आफ्नो देश फर्कने सपना तुहिएर तेस्रो देश जाने स्थिति आएपछि सन् २०१२ मा प्रेमबहादुर आफ्नी छोरी हरिमाया राईसँगै ताजमेनिया पुगे। “यता आउनुअघि बुबा भूटान पुगेर दाजुलाई भेट्नुभएको थियो तर, उहाँ छुट्ने टुंगो नरहेपछि हामी सल्लाहमै यता आयौं” हरिमायाले फोनमा भनिन्, “बेलडाँगी छँदै दाजुको बिहे भएर पनि दुई सन्तान जन्मिसकेका थिए। पछि भाउजूले अरूसँगै बिहा गरेर सन्तानसहित क्यानडा जानुभयो। दाजु भूटानको जेलमै हुनुहुन्छ।”
बाबु प्रेमबहादुर ‘सास रहुन्जेल आश’ भनिरहन्छन्। तर, त्यही सास रहे–नरहेको खबर पनि धेरै वर्षदेखि थाहा छैन। पहिले आईसीआरसीमार्फत हस्तबहादुरको कैदी नम्बर र अरू देख–भेटका खबर आउने गरेको भए पनि पछिल्ला आठ वर्षदेखि केही थाहा नभएको हरिमायाले सुनाइन्।
संयोगले ओमनाथ, चतुरमान, कुमार र हस्तबहादुर जस्ता भूटानी राजबन्दीहरू अझै बाँचेकै छन् भन्ने आधार भने केही वर्र्षअघिसम्म आईसीआरसी र अरू अन्तर्राष्ट्रिय निकायबाट जसोतसो थाहा हुन्थ्यो।
झण्डै पाँच वर्र्षपछि, अब उनीहरूको खबर पाउने एउटै आशा भनेको अमेरिकाको न्यूयोर्कबाट सार्वजनिक हुने भूटानका जेलमा रहेका वा त्यहींबाट गुमनाम भएका राजबन्दीको प्रामाणिक सूची हो।
बाहिरी जगतमा लोकतन्त्र र सुखी–खुशी राष्ट्रको दुहाइ दिएर हिंड्ने भूटानले मानवअधिकारको न्यूनतम शर्त पनि पालना गर्न सकेको छैन, अमेरिका, बेलायत जस्ता लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताका हिमायती राष्ट्रले पनि भूटानी ज्यादती विरुद्ध बोल्न सकेका छैनन्।
- टेकनाथ रिजाल, भूटानी मानवअधिकारवादी
दुनियाँसामु लोकतन्त्र र खुशी–सुखी राष्ट्रको दुहाइ दिंदै हिंडेको भूटानले सन् १९९० यता ‘राजनीतिक गतिविधि’ गरेको अभियोगमा ५० भन्दा धेरै आफ्नै नागरिकलाई राजबन्दीको हैसियतमा थुनामा राखेको छ। यसबारे अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी), एम्नेष्टी इन्टरन्याशनल जस्ता निकाय जानकार छन्।
विश्वका १०० देशमा रहेको मानवअधिकार, स्वतन्त्रता र न्यायिक पद्धतिको निरुपण गर्ने अमेरिकी अन्तर्राष्ट्रिय निकाय ह्युमन राइट्स वाचले समेत भूटानी राजबन्दीको सूचीसहितको गैर–न्यायिक भूटानी पद्धतिलाई यसै साता सार्वजनिक बहसमा ल्याउने भएको छ।
योसँगै आगामी साता ‘सन् ९० को दशकमा एक लाखभन्दा बढी नागरिकको जातीय सफाया गरेर देश निकाला गर्नुमा भूटान दोषी छ’ भन्ने संकल्प–प्रस्ताव अमेरिकी सिनेटको पहिलो बैठकमा पेश हुने भएको छ। प्रस्तावमा भूटानको गैरन्यायिक थुनाको पक्ष र मानवअधिकार हनन् लगायतका मुद्दा बहसमा आउने छन्।
भूटानी राजबन्दीलाई विना शर्त रिहा र स–सम्मान पारिवारिक मिलन गराइनुपर्छ भन्दै अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएका अभियन्ता राम कार्कीले हेग (अन्तर्राष्ट्रिय फौजदारी अदालत), जेनेभा (संयुक्त राष्ट्रसंघीय परिषद), न्यूयोर्क (संयुक्त राष्ट्रसंघ मुख्यालय) सहितका मञ्चमा यो सरोकार राखिरहेका छन्। तर, बाहिरी विश्वले भूटानले सुनाउने गरेको ह्यापी–इन्डेक्स र सन् २००८ पछिको लोकतन्त्रको दुहाइ मात्रै सुन्दै आएको उनी बताउँछन्। भन्छन्, “यसपटकको जेनेभा मानवअधिकार भेलामा पनि यो सरोकारलाई पन्छाइएको छ।”
कहिलेसम्म शिविर कुर्ने
सन् १९९२ मा भूटानबाट लखेटिएर भारत हुँदै नेपाल आएका गंगालाल गुरुङको परिवारमा बुवाआमा, भाइबहिनीसहित ९ जना थिए। सन् २००८ को फेब्रुअरी पहिलो साता उनका भाइ सनमान गुरुङ भारतको सिलिगुढी हुँदै सीमावर्ती जयगाउँसम्म पुगेका रहेछन्। त्यसपछि उनी कहाँ गए, के गरे केही पत्तो भएन। धेरैपछि मात्रै सनमानलाई चेम्गाङ पुर्योइएको गंगालालले थाहा पाए। त्यही खेपमा झापामा शरण लिइरहेका ओमनाथ अधिकारी, बिर्खबहादुर क्षेत्री, हस्तबहादुर राई, चतुरमान तामाङ, नन्दलाल बस्नेत, गोविन्द निरौला, आइतराज राई, खगेन्द्र खनाल, सुकमान मगर र कुमार गौतमलाई पनि भूटान लगेर आजीवन कारावासमा हालियो।
छोराको पर्खाइमा बा–आमा र आफन्तले धेरै वर्र्ष शिविरमै कुरे। तर, पार नलागेपछि आईसीआरसीलाई गुहारेर भूटानको चेम्गाङ पुगी सनमानलाई भेट्नसम्म पाए। त्यो भेटलगत्तै सनमानको परिवार बा–आमासहित अष्ट्रेलिया पुनर्वास भयो। दाजु गंगालाल भने भाइलाई पर्खेर बेलडाँगी शिविरमै बसे।
सन् २०१६ मा भाइलाई भेट्दा उनले मलाई पर्खनुहोला, साथै विदेश जाऔंला भनेका रहेछन्। फेरि भाइले ‘मेरो रिहाइको ठेगान भएन, तपाईं मात्रै भए पनि जानू नि त’ भनेपछि गंगालाल केही महिनाअघि मात्रै अष्ट्रेलिया लागेका छन्।
बेलडाँगी–२ कै २७२ नम्बर छाप्रोमा बस्ने ७० वर्षीय नरपति खनाल र ६६ वर्षीया देउमायाको कथाव्यथा पनि उस्तै अत्यासलाग्दो छ। खनाल दम्पतीका माइला छोरा खगेन्द्र पनि शिविरका भक्तबहादुर, सनमानसँगै २००८ मा भूटान गएका बेला उतैबाट पक्राउ परेर चेम्गाङमा राखिएका छन्।
“चेम्गाङको ब्लक–४ मा दाइलाई राखिएको छ, दाइलाई भेट्न बुवा एकपटक र म ४ पटक गइसकेकी छु” खगेन्द्रकी बहिनी उमादेवी खनाल भन्छिन्, “दाजुले ‘मिलेसम्म तिमीहरू तेस्रो देश जानू, मेरो कागजपत्र शिविरमै राखिदिनू’ भन्नुहुन्छ। तर, बा–आमाले छोरो जेलबाट नछुट्दै कसरी जानू ! भनेकाले यतै बसिरहेका छौं।” जबकि, खनाल दम्पतीका एक छोरा अष्ट्रेलिया र अर्का क्यानडा गइसकेका छन्।
तर, समय घर्किंदै जाँदा र शिविरका छिमेकी एकपछि अर्को तेस्रो मुलुकमा पुनर्वासमा गएपछि खगेन्द्रका बा–आमालाई पनि विदेश जान दबाव पर्यो। खगेन्द्र नआउन्जेल पुनर्वासमा नजाने भनेका उनीहरू पनि गएको मंगलबार मात्रै शिविरबाट बिदा भएर छोरीसहित काठमाडौं लागेका छन्। उनीहरू यसै साता क्यानडा जाने कार्यक्रम छ– आईसीआरसीको दर्तावाल छोरा (आईसीआरसी नम्बर ०००४६४) लाई भूटानी जेलमै छाडेर।
थुनामा रहेकामध्ये ओमनाथ अधिकारी (आईसीआरसी ०००४५५), भक्तबहादुर राई (आईसीआरसी ०००२२५), खगेन्द्र खनाल (०००४६४), गंगाराम ढकाल (आईसीआरसी ०००१८८) सहितका केही परिवार दमक, बेलडाँगीको शरणार्थी शिविरमा कुरेर बसिरहेकै छन्। दमकको यही शिविरबाट बेपत्ता बनाइएकामध्ये लोकनाथ आचार्य, कुलबहादुर बस्नेत, चेङगुम डुक्पालाई भूटानको कुन जेलमा कसरी राखिएको छ भन्ने आईसीआरसीले पनि जानकारी दिन सकेको छैन।
भूटानले आईसीआरसीलाई पनि कारागारको अध्ययन भ्रमणमा जान अनुमति नदिएपछि शरणार्थीका थुनामा रहेका आफन्त मरे कि बाँचे भनेर सोधखोज गर्ने निकाय समेत छैन। गएको जेठ अन्तिममा भूटानको सरकारी मुखपत्र कुइन्सेलले चेम्गाङ कारागारमा २२ वर्षदेखि थुनामा रहेका नेपालीभाषी डम्बरसिंह पुलामीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि थिम्पूस्थित अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको समाचार लेख्यो। त्यो सूचना पाएर भूटानी राजबन्दीको रिहाई सम्बन्धी ग्लोबल अभियानले हेगबाट जारी गरेको विज्ञप्तिमा थिम्पूस्थित जिग्मे दोर्जी वाङचुक नेशनल रिफरल हस्पिटलमा पुलामीलाई भर्ना गरिएको उल्लेख थियो। पुलामीकी श्रीमतीसहित परिवारका अन्य सदस्य पुनर्वासमा अमेरिका गइसकेका छन्।
भूटानको सर्वाङबाट लखेटिएर सन् १९९२ मा झापाको टिमाइ आएका पुलामी सन् २००१ मा भारत–भूटान सीमावर्ती बिन्दुमा पक्राउमा परेका थिए। उनी आईसीआरसी दर्ता (०००३९७) मा रहेका राजबन्दी थिए। यसरी राजबन्दी भन्दै ४३ वर्र्षे थुना अवधि तोकिएका मणिकुमार प्रधान (आईसीआरसी ०००३८५) समेत हुन्। तर, अस्पताल लगिएका पुलामी अहिले कहाँ छन्, के हालत छ— कसैलाई जानकारी छैन।
झण्डै एक वर्षअघि गएको वैशाखमा भूटानी मानवअधिकारकर्मी एवम् ड्रूक नेशनल कंग्रेसका नेता छेवाङ रिन्जिनसहित पाँच नेपालीभाषीलाई चेम्गाङ जेलबाट रिहा गरिएको थियो। सन् २००८ मा पक्राउ परेका खर्कबहादुर मोंगर, बलराम चाम्लिङ, नइन्द्रप्रसाद खुलाल (खरेल), घनश्याम गुरुङ र रामबहादुर खुलाललाई पनि भूटान सरकारले रिहा गरेको जनाइएको थियो। तर, रिहापछि पनि उनीहरूको अवस्था अज्ञात छ।
अहिले आएको पछिल्लो सूचीमा भने राजबन्दीहरू चेम्गाङसहित साम्द्रुप जोङ्खर, राबुना, पारो, माेंगर (जिल्ला) का जेलमा रहेको जनाइएको छ।
“बाहिरी जगतमा लोकतन्त्र र सुखी–खुशी राष्ट्रको दुहाइ दिएर हिंड्ने भूटानले मानवअधिकारको न्यूनतम शर्त पनि पालना गर्न सकेको छैन” भूटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल भन्छन्, “अमेरिका, बेलायत जस्ता लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताका हिमायती राष्ट्रले पनि भूटानी ज्यादती विरुद्ध बोल्न सकेका छैनन्। नेपाल स्वयंले जेनेभा र न्यूयोर्कका मञ्चमा उभिएर मानवअधिकार हननको भूटानी नांगो नाचमाथि किन प्रश्न गर्न नसकेको हो, आश्चर्यको विषय बनेको छ।”