ऐन, कानून बनाउनेतर्फ सरकारको ध्यान नदिएको सभामुखको आरोप


काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको ध्यान ऐन, कानून बनाउनेतर्फ जान नसकेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले ऐन, कानून बनाउनेतर्फ संसदको ध्यान जान नसकेको बताएका हुन् ।

देशमा धेरै ऐन, कानूनहरु बनाउनुपर्ने आवश्यकता भएपनि त्यसो हुन नसकेको उनले बताए । उनले बनेका ऐनहरुको कार्यान्वयनको अवस्थाको सन्दर्भमा निष्पक्ष ढंगले अनुगमन पनि हुन नसकेको बताए । सभामुख घिमिरेले कतिपय कुराहरु न्यायपालिकामा गएर पनि काममा अवरोध खडा भएको बताए । उनले कार्यपालिका र व्यवस्थापिकाका बिचमा समन्वय हुनुपर्ने बताए ।

सभामुख घिमिरेले विगतमा भएका युद्धमा प्रभावित मान्छेहरुका लागि सरकारले गम्भीर भएर कुनैपनि काम गर्न नसकेको बताए ।

उनले भने, ‘बेपत्ता नागरिकहरुको छानविनको कुनै निष्कर्ष नभइकन छानविन आयोगको समय सकियो । बेपत्ता नागरिकहरुको खोजि कसरी गर्न सकिन्छ भन्ने कुरा नभइ सिद्धियो । अहिलेको सरकारले म्याद थपेर पनि केही समय बित्यो तर त्यसलाई फेरि गठन गर्ने र संयन्त्र बनाएर काम गर्ने भइरहेको छैन । त्यस्तै गरेर हिजोको विभिन्न समयमा भएका युद्धहरुमा मान्छेहरुले पाएका सास्तीहरु, रोगी भएर जिविका चलाइरहेका परिस्थितिहरुप्रति सरकार गम्भीर भएर कार्यक्रमहरु ल्याउन सकिरहेको छैन ।’ सभामुख घिमिरेले सरकारलाई संसदप्रति उत्तरदायी बनाउनुपर्ने बताए ।