काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँगको व्यापारिक नाका तातोपानी पूर्णरुपमा खुलाउन पहल भइरहेको बताएका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा नेतृत्व टोलीको ज्ञापनपत्र बुझेपछि उहा भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताएका हुन् ।
टोलीले तातोपानी नाका खुलाउन पहल गरिदिन अध्यक्ष दाहाललाई ज्ञापनपत्रसहित अनुरोध गरेको थियो । दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै अध्यक्ष दाहालले तातोपानीका नेपाली व्यवसायी एवं नेपालको व्यापारिक दृष्टिबाट सो नाका महत्वपूर्ण रहेको स्पष्ट पारे ।
चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै उनले यसको ऐतिहासिक पक्षबारे पनि चीनलाई जानकारी गराइएको बताए ।
चिनियाँ राजदूत हाउ यान्छीसँगको बिदाइ भेटमा पनि आफूले यसबारे कुराकानी गरेको र सकारात्मक जवाफ पाएको अध्यक्ष दाहालको भनाइ थियो ।
भूकम्पपछिको पुनःनिर्माण भइसकेको र सुख्खाबन्दगाह पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरोरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले चीनबाट नयाँ राजदूत आएपछि आफूले थप कुरा गर्ने टोलीलाई विश्वास दिलाए ।
अध्यक्ष दाहालले नयाँ राजदूत आएपछि दुवैतिर आवतजावत खुला हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएको सांसद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया